
हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र भारतको उत्तराखण्डस्थित हरिद्वारमा आयोजित महाकुम्भ मेला २०२१ क्षेत्रमा कोरोना भाइरस संक्रमणको तीब्रतालाई मध्यनजर गर्दै समयअगावै मेला समाप्तिको घोषणा गरिएको छ ।
कोरोनाको भयावह अवस्थालाई ध्यान दिँदै निरञ्जनी अखडाले कुम्भ समाप्तिको घोषणा गरेको हो ।
मेलामा सहभागी साधुसन्तमा कोरोना पुष्टि भएको छ भने केही साधुसन्तमा कोरोनाका लक्षण देखिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो १४ दिनमा कुम्भ मेला क्षेत्रमा ३ हजार व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ । निरञ्जनी अखडाका सचिव रवीन्द्र पुरीले भने, ‘कोरोनाका कारण बिग्रिँदो अवस्थालाई मध्यनजर गर्दै मेला अन्त्य गरियो । मुख्य शाही स्नान सम्पन्न भइसकेको छ ।’
भारतीय सञ्चारमाध्यमका अनुसार हरिद्वारमा मार्च १–३१ सम्म दैनिक औसत १०–२० जनामा संक्रमण देखिने गरेको थियो तर अप्रिल १ बाट दैनिक ५०० व्यक्तिमा संक्रमण पुष्टि भइरहेको छ ।
हरिद्वारमा कोरोना बढिरहेको सन्दर्भमा उत्तराखण्डका मुख्यमन्त्री तीरथसिंह रावतले उच्चस्तरीय बैठक बोलाएका छन् । बैठकबाट कुम्भ मेलाबारे केही ठूलो निर्णय हुनसक्ने चर्चा भारतीय मिडियामा छ ।