
हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा १ किसानको शुक्रवार मृत्यु भएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कंकालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीय गंगाप्रसाद साहले जानकारी दिए ।
हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि अहिले घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले बताए ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।
कोशी नदी पश्चिम किनार गोलघर नजिक खेतमा काटेर राखिएको गहुँको रखवारी गर्न गएका प्रमाणीको हात्तीले कुल्चेर मृत्यु भएको स्थानीयले बताए । मृतकका १ पत्नी, छोरा र छोरी छन् ।