जब्रो छेड्ने जात्राका रूपमा प्रसिद्ध भक्तपुरस्थित थिमिको बोडेलाई चोर नलाग्ने स्थानका रूपमा समेत चिनिन्छ। यहाँ जात्रापर्वको भीडभाड होस् वा अन्य कुनै दिन घरमा कसैले ताला लगाउँदैनन्। थिमि नगरपालिका–८, बोडेका वडाध्यक्ष देवकृष्ण मोय् श्रेष्ठका अनुसार अहिलेसम्म यहाँ चोरी भएको र चोरलाई पक्रेर प्रहरीमा लैजानु परेको कुनै घटना छैन।
यसो हुनुका कारण सबै कृषक रहेकाले हो। दिउँसो कृषक तरकारी बिक्री गर्न गएका हुन्छन् तर यहाँ कसैले घरका ढोकामा ताला लगाउन आवश्यक ठान्दैनन्। यो बाह्य मानिसको बसोबास नभएको पुरानो नेवार बस्ती रहेकाले पनि एकापसमा उत्तिकै विश्वास छ।
घरभित्र मात्र नभएर आँगनमा राखिएका सामग्री पनि यहाँ चोरी हुँदैन। बिहीबार आठौँपटक जिब्रो छेडाएका बुद्धकृष्ण बाग श्रेष्ठले पनि बोडेमा अहिलेसम्म चोरीका घटना नभएको बताउँदै कसैले चोर आएमा यसरी नै जिब्रो छेडिन्छ भनेर सूचना दिइन्छ भनेर प्रचारबाजी गरिए पनि यो सत्य नभएको बताए । गोरखापत्रमा खबर छ ।