स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोना संक्रमणको अवस्था गम्भीर हुनेतर्फ बढ्दो क्रममा रहेको भन्दै यसलाई हल्का ढंगले नलिन आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले मुलुकमा कोरोनाको जोखिम बढ्दो अवस्थामा रहेको जानकारी दिएका हुन् ।
उनले सार्क मुलुकमा समेत कोरोना महामारीको जोखिम बढ्दै गइरहेको बताउँदै नागरिकको जीवन रक्षाका निम्ति सरकारले मुलुकमा उपलब्ध सबै स्रोत साधनको प्रयोग गरिरहेको बताए ।
उनले भने,‘ सरकारको महत्वपूर्ण उद्देश्य सरकारको जीवन सर्वोपरि छ । उपलब्ध सबै साधन र स्रोत, भौतिक पूर्वाधार लगायतका सम्पूर्ण साधनहरू नागरिकको जीवन रक्षाका लागि प्रयोग गरेका छौं ।’
उनले नेपाललाई सकेसम्म बन्दाबन्दीको अवस्थामा नपुर्याउनेतर्फ सरकारको ध्यान केन्द्रीत रहेको बताए ।
उनले भने,‘भरसक नेपाललाई बन्दाबन्दीको अवस्थामा नपुर्याउने सरकारको सोच छ ।’
मन्त्री त्रिपाठीले रोग न्यूनिकरणका क्रममा कहीँ पनि कमीकमजोरी रहन गएमा पुनः दुष्चक्रमा फस्ने गम्भीर अवस्था रहेको बताए ।
उनले भने,‘ सरकारले जारी गरेको आदेश पालना गरेमा बन्दाबन्दीको अवस्थाबाट बच्न सक्छौं, हैन भने,बन्दाबन्दीको अवस्था आउन पनि सक्छ ।’