नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताएका छन् ।
मंगलवार युथ फर नेसनको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्ग संघर्ष र राजनीतिक क्रान्तिको चरण पार गरिसकेको भन्दै समृद्ध समाज निर्माणका लागि अध्ययन, अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताए ।
‘वर्ग संघर्ष र राजनीतिक क्रान्तिको एउटा चरण हामीले पार गरेका छौं । हामीले अब विकास, समृद्धि, अध्ययन अनुसन्धान र अन्वेषणको एउटा नयाँ युगतिर प्रवेश गर्नुछ । अनि मात्रै एउटा समृद्ध समाज निर्माण गर्न सकिन्छ,’ उनले भने ।
अहिले विश्वको तापक्रम बढेकाले हिउँ पग्लिने प्रक्रिया तीव्रगतिमा अघि बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो गतिलाई रोक्न नसके विश्व मानव समुदायलाई ठूलो नकारात्मक असर पर्ने तथ्यांकहरू सार्वजनिक भएको सन्दर्भमा वातावरणको संरक्षणका निम्ति नेपाली अध्येता र विज्ञहरूले गरेको मेहनत सराहनीय रहेको बताए ।