०३ असार २०८३, बुधबार

धनी बन्दै नेपाली, एकै वर्षमा ११ हजारले बढ्यो प्रतिव्यक्ति आम्दानी

कात्तिक २०, २०७४
धनी बन्दै नेपाली, एकै वर्षमा ११ हजारले बढ्यो प्रतिव्यक्ति आम्दानी

काठमाडौं, १४ जेठ –नेपालीको प्रतिव्यक्ति आय एकै वर्षमा ११ हजार रुपैयाँभन्दा बढीले बढेको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण (आव) २०७३/७४ का अनुसार चालू आवमा नेपालीको प्रतिव्यक्ति आम्दानी ८ सय ५३ अमेरिकी डलर (करीव ९० हजार ५ सय २१ रुपैयाँ) पुगेको छ ।

सर्वेक्षणका अनुसार गत आवमा नेपालीको यस्तो प्रतिव्यक्ति आय ७ सय ५७ अमेरिकी डलर (करीव ७९ हजार ३ सय २५ रुपैयाँ) पुगेको छ ।

चालू आवमा प्रतिव्यक्ति आय गत आवको तुलनामा १४ दशमलव १ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ । गत आवमा यस्तो आय ४ दशमलव १ प्रतिशतलेमात्र बढेको थियो ।

त्यस्तै, चालू आवमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय पनि बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको छ । अघिल्लो आवमा यस्तो आय ७ सय ५७ अमेरिकी डलर थियो ।

चालू आवमा देखिएको उच्च आर्थिक वृद्विका कारण नेपालीको प्रतिव्यक्ति आम्दानी पनि बढेको हो । चालू आवमा झण्डै ७ प्रतिशतको आर्थिक वृद्वि हासिल हुने सरकारको प्रक्षेपण छ ।


प्रतिव्यक्ति आए बढेसँगै नेपालीको प्रतिव्यक्ति खर्चयोग्य आम्दानी पनि बढेको छ । सर्वेक्षणका अनुसार चालू आवमा यस्तो प्रतिव्यक्ति खर्चयोग्य आम्दानी ३९ हजार १ सय ४२ पुगेको छ । यो गत आवको भन्दा ३ दशमलव ६ प्रतिशतले बढी हो ।

त्यस्तै, गत आवमा २७ हजार ८९ रुपैयाँ रहेको स्थिर मूल्यमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन चालू आवमा ६ दशमलव १ प्रतिशतले बढी २८ हजार ७ सय ३३ रुपैयाँ पुगेको प्रक्षेपण सर्वेक्षणले गरेको छ । अघिल्लो आवमा स्थिर मूल्यमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा शून्य दशमलव ९ प्रतिशतले ह्रास आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्