
अमेरिकाको मिन्नियपोलिसमा काला जातिका पुरुष जर्ज फ्लोयडको घाँटीमा नौ मिनेटसम्म घुँडा राखेर मार्ने प्रहरी अधिकृत डेरेक चोभिनलाई ७५ वर्षको कारावास सजाय पाउने गरी दोषी ठहर गरिएको छ ।
उनीविरुद्ध तीनवटा अभियोग लागेकोमा तीनैवटामा दोषी ठहर गरिएको हो । काला जातिको अधिकारका लागि भइरहेको संघर्षमा यसलाई ठूलो जीतका रूपमा हेरिएको छ ।
चोभिनलाई सजाय दिनुअघि ज्युररहरूले दुई दिनसम्म १० घन्टाभन्दा बढी छलफल गरेका थिए ।
मिन्नियपोलिसको हेन्नेपिन काउन्टी कोर्टहाउसमा मास्क लगाएर उपस्थित भएका चोभिनले दोषी ठहर गर्ने फैसलामा कुनै प्रतिक्रिया दिएनन् ।
पछि उनको धरौटी रद्द गरिएको थियो र उनलाई हत्कडी लगाएर अदालतको छेउको ढोकाबाट निकालिएको थियो ।
उनलाई पछि मिन्नेसोटाको स्टिलवाटरस्थित कारागार लगिएको थियो ।
चोभिनले फ्लोयडको घाँटीमा घुँडाले थिचेर मार्ने उद्देश्य नराखिकनै मारेको पाइयो । अनि चोभिनले पागल मनस्थिति राखेर काम गरेको पनि ठहर भयो । र फ्लोयडको मृत्यु हुने गरी चोभिनले दण्डनीय लापरवाही गरेको पनि ठहरियो ।
चोभिनलाई दुई महिनाभित्र अन्तिम सजाय सुनाइने भएको छ ।
घटनाको ११ महिनापछि चोभिनलाई दोषी ठहर गरिएको हो । सन् २०२० को मे २५ मा चोभिनले फ्लोयडको घाँटी र ढाडमा ९ मिनेट २९ सेकेन्डसम्म घुँडा राखेका थिए । फ्लोयडले सास फेर्न सकिनँ भनी बारम्बार भने र अन्तिममा उनको सास गयो ।
अमेरिकाको फौजदारी न्याय प्रणालीले काला जातिका मानिसलाई अमानवीय व्यवहार गर्ने भनी काला अमेरिकीहरूले लगाउने आरोपलाई फ्लोयडको हत्याको भिडियोले पुष्टि गरेको थियो । उक्त घटनापछि देशभरि व्यापक विरोध प्रदर्शन भएको थियो अनि लुटपाटका घटना पनि भएका थिए ।