
अमेरिकाको कोलम्बसमा एक प्रहरी अधिकृतले १५ वर्षीया माखिया ब्य्रान्टलाई गोली प्रहार गरी हत्या गरेको छ । जर्ज फ्लोयडको हत्यामा प्रहरी अधिकृत डेरेक चोभिनलाई दोषी ठहर गर्ने बेलामा यो हत्या गरिएको हो ।
कोलम्बस प्रहरीले घटनाको बडीक्याम फूटेज जारी गरेको छ । त्यसमा ती किशोरी घरबाट चक्कु लिएर निस्केको देखिन्छ ।
ब्य्रान्ट घरबाट चक्कु लिएर हुर्रिंदै आउँछिन् र अर्की महिलातिर जान्छिन् । ती महिला पछिल्तिर लड्छिन् ।
त्यसपछि ती ब्य्रान्ट घटनास्थलमा रहेकी अर्की महिलातिर दौडिँदै गर्दा प्रहरी अधिकृतले गोली हानेर ढलाउँछन् ।
मानिसहरू आत्तिएर चिच्याएको सुनिन्छ ।
अधिकारीहरूले ब्य्रान्टको शरीरलाई हेरेको देखिन्छ ।
गोली हान्ने अधिकारीको पहिचान खुलाइएको छैन । प्रहरी प्रमुख माइकल वूड्सले ती अधिकारीलाई अनुसन्धान चलुन्जेल सडकबाट हटाइएको बताए ।
माखिया ब्य्रान्टलाई उनकी आमाले सामाजिक सञ्जालमा पहिचान गरिन् । उनलाई माउन्ट कार्मेल ईस्ट अस्पताल लगिएको थियो तर ५ः२१ मा उनको मृत्यु भयो ।
एक प्रत्यक्षदर्शीका अनुसार, माखिया फोस्टर होममा बस्थिन् । त्यहीँकी अर्की महिलासँग झगडा परेपछि उनले चक्कु लिएर आफ्नो प्रतिरक्षा गर्दै गरेको बेलामा प्रहरी आएर गोली हानेको थियो ।