
विद्यालय र समुदायमा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्रमा १० दिनका लागि लकडाउन (बन्दाबन्दी) घोषणा गरिएको छ ।
मंगलवार बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माविका १९ विद्यार्थीसहित आसपास समुदायका शंकास्पद बिरामीको जाँच गर्दा ३९ जनामा कोरोना संक्रण पुष्टि भएको थियो ।
यसअघि विद्यालयका २ शिक्षकमा कोरोना संक्रमण देखापरेको थियो । विद्यालयमा अघिल्लो शुक्रवारदेखि नै पठनपाठन बन्द गरिएको छ ।
मंगलवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले मंगलवार रातिदेखि लागू हुने गरी बन्दाबन्दी घोषणा गरेको हो ।
बागलुङ नगरपालिका–१४ नारायणस्थाल, वडा नम्बर १२ अमलाचौर र वडा नम्बर १३ पैञ्युपाटामा १० दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका स्रोत व्यक्ति सुरज गुरौले जानकारी दिए ।
समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय बागलुङले बन्दाबन्दी घोषणा गर्नेछ । बन्दाबन्दीको समयमा संक्रमितको सम्पर्कमा रहेकाको खोजी र उपचार गर्न सहज हुनेछ ।