२१ जेठ २०८३, बिहीबार

हुम्लामा हिमपात हुँदा सर्वसाधारण अचम्मित

बैशाख ९, २०७८
हुम्लामा हिमपात हुँदा सर्वसाधारण अचम्मित
प्रतिकात्मक तस्वीर

उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा स्थानीय सर्वसाधारण अचम्मित भएका छन् ।

पुस, माघ र फागुन ३ महिना मात्रै हिमपात देखेका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ ।

आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट–२ का गोकुल बोहराले बताए ।

बुधवार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ । विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । हिमपातसँगै जिल्लाको तापक्रम माइनसमा झरेको छ ।

सिमकोटको अहिले बिहानको तापक्रम माइनस चारमा झरेको छ भने यहाँका नागरिकले फेरि बाक्लो कपडा प्रयोग गर्न थालेका छन् ।

उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा २ फिटसम्म हिउँ जमेको छ । नाम्खामा बुधवार दिउँसो १ बजेदेखि शुरू भएको हिमपात जारी रहेको छ भने हिमाल सेताम्ये देखिएका छन् ।

नाम्खा गाउँपालिका, सिमकोट र खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा २ फिटभन्दा बढी हिमपात भएको स्थानीय सोनाम लामाले बताए ।

विशेषगरी नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा बाक्लो हिउँ जमेको लामाले बताए । मंगलवार ४ हजार ६०० मिटर अग्लो रहेको नारा लेकमा मानिसले आवतजावत गरेको भए पनि बुधवारदेखि हिमपात हुँदा पुनः नारा लेक बन्द भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्