पाकिस्तानको क्वेटा शहरमा रहेको एक विलासी होटलको पार्किङ होटलमा बुधवार राति बम विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
पाकिस्तानका लागि चिनियाँ राजदूत उक्त होटलमा बसिरहेका थिए तर घटना हुँदा उनी होटलमा थिएनन् ।
आतंकवादी समूह तहरीक–ए–तालिबानले घटनाको जिम्मेवारी लिएको छ ।
चिनियाँ राजदूत नोङ रोङ उक्त प्रान्तका मुख्यमन्त्री जाम कमाललाई भेट्न गएको बेलामा विस्फोट भएको हो ।
सुरक्षाको कडा बन्दोबस्त गरिएको होटल इरानी कन्सुलेट र प्रान्तीय संसद् भवनसँगै छ । क्वेटा बलोचिस्तान प्रान्तको राजधानी हो । त्यहाँ स्थानीय राष्ट्रवादीहरूले विद्रोह गर्दै आएका छन् । उनीहरू उक्त क्षेत्रमा रहेको खनिजस्रोतको हिस्सा खोजिरहेका हुन् ।
यही प्रान्तमा ग्वादर बन्दरगाह पनि छ । चीनको बेल्ट यान्ड रोड इनिसिएटिभ अन्तर्गतको चीन–पाकिस्तान आर्थिक कोरिडोरमा चीनले ६५ अर्ब डलरको लगानी गरेको छ ।
आतंकवादीहरूले चिनियाँ राजदूत र प्रतिनिधिमण्डललाई आक्रमणको तारो बनाउन खोजेका हुन् कि हैनन् भन्ने विषय स्पष्ट छैन । तर तालिबान लडाकू र राष्ट्रवादी विद्रोहीहरूले चिनियाँ नागरिक तथा चिनियाँ स्वार्थमाथि पहिलेपहिले आक्रमण गर्ने गरेका थिए ।