फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सलाई महिलाहरूले हुलाकमार्फत अन्डरवेयर पठाइरहेका छन् ।
देशमा लकडाउनका कारण भित्री वस्त्र बेच्ने पसलहरू बन्द भएकाले विरोधस्वरूप उनीहरूले यसो गरेका हुन् ।
उनीहरूले अन्डवेयरसँगै प्रधानमन्त्रीलाई गुनासो गरिएको पत्र समेत पठाएका छन् ।
उक्त विरोध कार्यक्रम याक्सन कुलोट्टी नामक समूहले गरेको हो । भित्री वस्त्र बेच्ने पसललाई गैरजरूरी व्यापार भन्दै बन्द गर्न लगाइएको छ ।
’हामीले २०० जना रिटेलरहरूलाई विरोधमा सहभागी बनाएका छौं,’ सिल्भेट लिंजरी स्टोरकी मालिक्नी नताली पारेडेसले बताइन् । ‘यसको अर्थ हुन्छ प्रधानमन्त्रीलाई २०० वटा पेन्टी पठाइएको छ ।’
यस समूहले प्रधानमन्त्री कास्टेक्सलाई पठाइएको पेन्टीको तस्वीर सामाजिक सञ्जालमा पोस्ट पनि गरेको छ ।
उनीहरूले प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्, ‘फूल, पुस्तक र क्यासेट पसलहरूलाई जरूरी व्यापार भनिएको छ । अनि अन्डरवेयर नि ? यो सरसफाइ र सुरक्षाको प्रश्न हैन ? हामी बिहान लुगा लगाउँदा शुरूमा अन्डरवेयर लगाउँदैनौं ?’
अन्डरवेयरसँगको पत्रमा लकडाउन नियममा पुनर्विचार गर्न आग्रह गरिएको छ ।