
कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएका बेला भारत सरकारले गरीबलाई २ महिना पुग्ने खाद्यान्न निःशुल्क दिने घोषणा गरेको छ
प्रधानमन्त्री नरेन्द्र मोदीले राहत घोषणा गर्दै प्रधानमन्त्री गरीब कल्याण अन्न योजना अन्तर्गत मे र जुन महिनाका लागि गरीब परिवारलाई प्रतिव्यक्ति ५ किलोग्रामका दरले निःशुल्क अन्न वितरण गर्ने जानकारी दिए ।
सरकारको घोषणाले देशभर ८० करोड भारतीयलाई लाभ मिल्ने गृहमन्त्री अमित शाहले ट्विटरमार्फत जानकारी दिए । गरीबलाई खाद्यान्न बाँड्ने कार्यक्रममा २६ हजार करोडभन्दा बढी खर्च लाग्ने सरकारको अनुमान छ ।
सरकारी घोषणाले कोरोना महामारीका बेला गरीबलाई पोषणयुक्त अन्न मिल्ने प्रधानमन्त्री मोदीले बताए । यसअघि भएको लकडाउनका बेला समेत भारत सरकारले निःशुल्क अन्न वितरण गरेको थियो ।
भारतमा कोरोना महामारी बढ्दै गएर अक्सिजन र अस्पताल शय्याको अभाव भएको छ । भारतमा कोरोनाले भयावह रूप लिएको छ ।