​कोरोनाभाइरसविरुद्ध यसरी लडिरहेको छ युरोपीयन युनियन

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

भारतमा कोरोनाभाइरस संक्रमणले जटिल रूप लिन थालेपछि नेपालले आफ्नो सीमामा कडाइ गर्न थालेको छ। तर जसरी सार्क राष्ट्रहरू नै मिलेर भाइरसविरुद्ध लड्नुपर्ने थियो, त्यो हुन सकिराखेको छैन। यस्तो गम्भीर संकटमा समेत सहकार्य हुन नसक्दा सार्कको औचित्य समाप्त भएको छ।

तर संकटका यी दिनहरूमा ईयू र यसका सदस्य राष्ट्रहरू महामारीविरूद्ध लड्न र युरोपलाई आर्थिक मन्दीबाट फर्काउन, नागरिकको स्वास्थ्य मात्र हैन कि जीवनको मूलभूत आवश्यकताहरूको रक्षा गर्न कसरी एकजुट भएर काम गरिरहेका छन् भन्नेबारे यहाँ सरसर्ती १० वटा बुँदा उल्लेख गर्न चाहन्छु ।


Advertisement

१. ईयू सदस्य देशहरूलाई सामान्य अवस्थामा फर्काउने प्रयास

ईयूलाई महामारीको आर्थिक र सामाजिक प्रभावबाट मुक्त गर्न ईयू नेताहरूले €७५० बिलियन  'नेक्स्ट जेनेरेसन ईयू' नामक रिकभरी फन्डमा सहायता गर्ने सहमति जनाएका थिए। यसप्रकारको रिकभरी प्याकेजले डिजिटल र हरित लगानीलाई प्राथमिकता दिने निर्णय गरेको थियो।

यतिले मात्रै नपुगेर युरोपीयन परिषदले २०२२ देखि २०२७ सम्मका लागि दीर्घकालीन ईयू बजेटमा सहमति जनायो जसले आगामी वर्ष वृद्धि हुने गरी नागरिक, व्यवसाय र ईयूको अर्थतन्त्रलाई बढावा दिने नीति बनायो

यसका लागि कम्तिमा €१०७४.३ बिलियन रकम छुट्यायो।

ईयूभित्र रहेका कामदारहरूका लागि, व्यवसायीका लागि तथा आफ्ना सदस्य देशका लागि भनेर ईयूले पहिले नै ४५० बिलियन सहायता रकम छुट्टाएको थियो।

समग्र ईयूको रिकभरी प्याकेज €२३६४.३ बिलियन थियो। साथै संकटको समयमा सरकारलाई सहयोग पुर्‍याउनका लागि भनेर युरोपेली केन्द्रीय बैंकले €१३५० बिलियन सहयोग गरेको थियो।

२. यात्राका सम्बन्धमा नियमावली

ईयू देशहरूले कोभिड महामारीको अवधिमा ईयूभरी आवागमन स्वतन्त्रताको रक्षा गर्न यात्रा उपायहरूका लागि साझा फ्रेमवर्क स्थापना गर्‍यो । ती देशहरू उपाय र जोखिम क्षेत्रहरूको साझा परिभाषा गरेर आम मापदण्डमा सहमत भएका थिए । हवाई यात्रा, जल यात्रा र सडक यात्रातर्फ सीमा नाकाहरूमा कडाइका साथ जाँच हुँदै आएको छ।

ईयू सदस्य राष्ट्रहरूबाट प्रदान गरिएको डाटामा आधारित ईयूको कलर कोडेड म्याप प्रत्येक बिहीवार संक्रमन रोकथाम र नियन्त्रणका लागि युरोपीयन केन्द्रद्वारा प्रकाशित हुँदै आएको छ।

नक्शाले ईयू देशहरूलाई क्षेत्रअनुसार महामारीको स्थिति क्षेत्रमा आधारित यात्रा उपायहरूमा निर्णय लिन सहयोग गरिरहेको छ । यात्रीहरूलाई यात्राको योजना बनाउन र यात्रा उपायबारे विश्वसनीय र अप-टू-डेट जानकारी फेला पार्न ईयूले पुन: खुला ईयू वेबसाइट शुरू गर्‍यो, जुन सबै ईयू भाषाहरूमा उपलब्ध छन् ।

३. भाइरस सुस्त पार्ने प्रयास

ईयू देशहरूले आवश्यकता अनुसार लकडाउन, अस्थायी रूपमा अनावश्यक यात्रा प्रतिबन्धित गर्‍यो। मास्क प्रयोग अनिवार्य र भीडभाड हुने कुनैपनि गतिविधि भइराखेका छैनन्।

व्यवसायीहरूलाई सामाजिक सुरक्षाअन्तर्गत सहयोग भइराखेको छ, किटान नगरिएका वा मानिसहरू भीडभाड हुन सक्ने कुनैपनि व्यवसाय सञ्चालन गर्न अनुमति छैन ।

संरक्षण आवश्यक रहेका नागरिकहरूको भरणपोषणमा ईयूले आफ्नो सामाजिक सुरक्षाका प्रावधानहरूलाई हदैसम्म लचक बनाइरहेको छ।

नियम उल्लंघन गरेको खण्डमा हदैसम्मको जरिवाना समेत व्यवस्था गरेको छ ।

तेस्रो देशका बासिन्दाहरूका लागि यात्रा प्रतिबन्धहरू विस्तारै १ जुलाई २०२० पछि हटाइयो। तर तिनीहरूको यात्रा सूची नियमित समीक्षा गरिन्छ र आवश्यक पर्दा अद्यावधिक गरिन्छ।

महामारीको स्थिति र शारीरिक दूरीसहित समग्र उपायहरूको विश्लेषण गरेर तेस्रो देशका लागि मापदण्ड निर्धारण हुँदै आइरहेको छ र शंकास्पद यात्रीहरूलाई सेल्फ क्वारेनटाइनमा अनिवार्य पठाइन्छ।

४. सुरक्षित कोभिड खोपहरू प्रदान

२७ डिसेम्बर २०२० मा ईयूभित्र खोप शुरू भएको हो। ईयूले खोप उत्पादकहरूसँग अग्रिम खरिद सम्झौताको माध्यमबाट ईयूमा पर्याप्त मात्रामा सुरक्षित र प्रभावी खोपको उत्पादन सुरक्षित गर्न संयुक्त प्रयास समन्वय गरेको छ।

यस उद्देश्यका लागि ईयूले ईयू देशका लागि ठोस भ्याक्सिन पोर्टफोलियो सुनिश्चित गर्न खोप विकासकर्ताहरूसँग छ वटा सम्झौतामा हस्ताक्षर गरेको छ। कुलमा, खोपको २.६ अर्ब डोज सुरक्षित गरिएको छ।

सदस्य राष्ट्रहरू र विश्व स्वास्थ्य संगठनसँग मिलेर ईयूले भ्याक्सिनको विश्वव्यापी पहुँचतर्फ विश्वव्यापी प्रयासको समन्वय गरिरहेको छ। यदि ईयू सुरक्षित भएमा बाँकी विश्व पनि सुरक्षित हुन्छ भन्ने धारणा निर्माण गरिएको छ।

५. ईयू स्वास्थ्य प्रणालीलाई सहयोग

ईयूले सदस्य राष्ट्रहरू र ईयू संस्थाबीच निरन्तर सम्पर्कको माध्यमबाट कोभिड- १९ को महामारीमा संकट व्यवस्थापन र समन्वय सुनिश्चित गरेको छ।

ईयूले स्वास्थ्यकर्मी मात्र हैन व्यक्तिगत संरक्षण उपकरण र भेन्टिलेटरहरूको साझा युरोपियन भण्डार सिर्जना गरी चिकित्सा उपकरणहरू उपलब्ध गराएको छ। यसले संयुक्त सार्वजनिक खरिद र ईयूभित्र निरन्तर आपूर्ति सुनिश्चित गर्न महत्त्वपूर्ण समन्वय पनि गरेको छ।

भविष्यको सार्वजनिक स्वास्थ्य जोखिमको सामना गर्न युरोपलाई सहयोग पुर्‍याउन ईयूले नयाँ ईयू हेल्थ कार्यक्रम प्रस्ताव गरेको छ, जसले सदस्य राष्ट्रहरूका स्वास्थ्य सेवा प्रणालीलाई सहयोग पुर्‍याउनेछ।

ईयू हेल्थ स्वास्थ्य प्रणालीलाई अझ लचिलो बनाउने र स्वास्थ्य क्षेत्रको प्रबर्द्धन गर्ने कुरामा ध्यान केन्द्रित गर्दै कोभिडसँग रूपमा लडाईं गरिरहेका छन्।

६. जागिरको सुरक्षा

संकटको बेलामा मजदूरहरूको जागिर जोगाउन ईयूले आपतकालीन बेरोजगारी केन्द्र (SURE) निर्माण गरी बेरोजगारी जोखिम कम गर्न अस्थायी समर्थन प्रदान गर्दै आएको छ ।

यस योजनाले राष्ट्रिय रूपमा तर छोटो समयको कार्ययोजनाहरू अनुकूल हुने गरी सदस्य राष्ट्रहरूलाई €१०० बिलियनसम्म ऋण प्रदान गर्नेछ । शरद ऋतुको शुरूआतसँगै २०२० मा, पहिलो किस्ता ईयू देशहरूमा वितरण गरियो। मार्च २०२१ सम्म १७ सदस्य राष्ट्रहरूले 75.5 बिलियन प्राप्त गरेका छन् ।

७. ईयू देशहरूलाई कोभिड रेस्पोन्स गर्न मद्दत

ईयूले सदस्य राष्ट्रहरूलाई कोरोनाभाइरस रेस्पोन्स ‘इन्भेस्टमेन्ट इनिसिएटिभ’को माध्यमबाट उनीहरूको कामलाई सहयोग पुर्‍याउन ईयूको संरचनात्मक कोषबाट लगभग €३७ बिलियन बराबरको रकम ईयू देशहरूमा खर्च गरिरहेको छ।

साथै ईयूले ईयूको वित्तीय नियमहरूको पूर्ण लचिलोपन पनि प्रयोग गरिरहेको छ ।

ईयू देशहरूलाई संकटमा पनि जीवित राख्न रोजगारमा, स्वास्थ्य सेवा प्रणाली र व्यवसायहरूलाई सहयोग पुर्‍याउन ईयूको राज्य सहायताको नियमलाई छूट दिइयो जसले गर्दा सरकारहरूले नागरिक र कम्पनीहरूलाई सहयोग पुर्‍याउन अर्थतन्त्रमा तरलता प्रदान गर्न सक्दछ, र त्यसरूपमा रोजगार बचत हुन्छ।

८. ईयूबीचको एकता

ईयूले ईयू मेडिकल कोर्प्समार्फत मेडिकल टोली पठाउन सहयोग गरिरहेको छ, ताकि विभिन्न सदस्य राष्ट्रहरूबाट आएका टोलीले संकटमा परेको स्वास्थ्यसेवा प्रणालीलाई सहयोग पुर्‍याउन सक्दछन् । एकताको भावनामा ईयू देशहरूले एक अर्काको सहयोगमा आएका छन् ।

उदाहरणका लागि अस्ट्रिया, जर्मनी र लक्जेम्बर्गले गहन हेरचाह इकाइहरू बेल्जियम, डच, फ्रान्सेली र इटालीयन बिरामीहरूलाई गम्भीर अवस्थामा उपलब्ध गराएका छन्।

पोल्याण्ड, रोमानिया र जर्मनीले इटालीका अस्पतालहरूमा बिरामीको उपचारका लागि चिकित्सकहरूको टोली पठाएका छन् । हंगेरी र नेदरल्यान्ड्सले चेकियामा भेन्टिलेटर पठाएको छ। फ्रान्सले चेकिया र स्लोभाकियासँग खोप बराबरी रूपमा बाँडेको छ।

ईयूले नयाँ नियमहरू पनि अनुमोदन गर्‍यो जसले सदस्य राष्ट्रहरूलाई ईयू एकता कोषबाट स्वास्थ्य आपतकालीन आर्थिक सहयोगका लागि अनुरोध गर्नका लागि अनुमति दियो।

ईयूले नयाँ नियमहरू पनि अनुमोदन गर्‍यो जसले सदस्य राष्ट्रहरूलाई ईयू एकता कोषबाट स्वास्थ्य आपतकालीन आर्थिक सहयोगको लागि अनुरोध गर्नका लागि अनुमति दियो।

कोषको फराकिलो दायराका साथ २०२० मा सदस्य राष्ट्रहरूका लागि कोरोनाभाइरस महामारीविरूद्ध लड्न €८०० मिलियन उपलब्ध गराइएको थियो।

९. प्रमुख आर्थिक क्षेत्रहरूलाई सहयोग

आफ्नो खाद्य आपूर्ति शृंखला बचाउन र खाद्य अभाव हुनबाट बचाउन ईयूले महामारीबाट प्रभावित कृषि र मत्स्यपालन क्षेत्रलाई सहयोग पुर्‍याउन आपतकालीन उपायहरू अनुमोदन गर्‍यो। उपायहरूमा किसान र माछापालकलाई प्रत्यक्ष समर्थन र ईयू कोषमा लचकता बढाएको छ ।

थप रूपमा यूरोपीयन युनियनले युरोपभरी खानाको प्रवाहलाई अनुमति दिन 'हरित लेनहरू' स्थापना गर्‍यो र मौसमी कामदारहरूलाई 'महत्त्वपूर्ण कामदार' भनेर मान्यता दियो। ईयू वाइन, फलफूल र तरकारी उत्पादकहरूलाई सहयोग पुर्‍याउन पनि उपायहरू अपनाएको छ ।

१०. विश्वभरका ईयूका साझेदारहरूलाई समर्थन र साझेदारी

कोभिड संकट एक विश्वव्यापी चुनौती भएकाले समाधानको आवश्यकतका लागि ईयू र यसको सदस्य देशहरूले तत्काल स्वास्थ्य संकट र मानवीय आवश्यकताहरूलाई सम्बोधन गर्न वित्तीय सहयोग प्रदान गरेर भाइरसविरुद्ध लड्न साझेदार देशहरूको प्रयासलाई समर्थन गरिरहेका छन्।

ईयूले मानवीय एयर पूल सक्रिय गरेको छ र आवश्यकता भएका देशहरूमा मानवीय सहयोग पुर्‍याउन हालसम्म ४०.५ बिलियन युरो सहयोग गरिसकेको छ । खोप बाँडफाँड संयन्त्र स्थापना गर्नका लागि ईयूले विश्वभरका कम र मध्यम आय भएका देशहरूका लागि कोभ्याक्सको ग्लोबल खोप पहललाई समर्थन गरिसकेको छ ।

अन्त्यमा भारतमा कोरोना डरलाग्दो ढंगले फैलिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरूले केही महिनासम्म यस्तो खतरनाक परिस्थिति नरोकिने बताइरहेका छन्। अक्सिजन सिलिन्डरको अभावमा मानिसहरू मरिरहेका छन् । नेपालमा पनि कोरोनाभाइरस संक्रमण भएर हाल अस्पताल भर्ना भएका अधिकांशलाई अक्सिजन सपोर्ट दिनुपरेको चिकित्सकहरूले बताएका छन् । यदि अक्सिजन आपूर्तिको श्रृङ्खला (चेन) मिलाउन नसक्ने हो भने कर्णाली र सुदूरपश्चिममा संक्रमितको उपचार प्रभावित हुने खतरा देखिएको छ ।

यस्तो अवस्थामा सरकारले सबैभन्दा पहिले जसरी भएपनि आवश्यक मेडिकल उपकरणहरूको जोरजाम गर्नुपर्ने देखिन्छ। डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूको मनोबल उकास्नुपर्ने देखिन्छ। त्यसपश्चात लकडाउन गर्दा सर्वसाधारण जनतालाई पर्ने आर्थिक तथा मानसिक समस्या कसरी हल गर्ने भन्नेबारे सरकारको ध्यान जानु आवश्यक छ।

यसका लागि सरकारले मानिसहरूलाई गाउँ फर्केर कृषि गर्नका लागि प्रेरित गर्न सक्छ। हरित क्रान्तिका लागि लगानी गर्न सक्छ। सीमा नाका पूर्ण रूपमा बन्द, हवाई उडानहरूको नियमन, भ्याक्सिनहरूको आपूर्तिका लागि सरकार चनाखो हुनुपर्छ।

नागरिकले पनि सभा सम्मेलन, बिहे, भोज भतेरजस्ता भीडभाड हुने काम गर्नुहुँदैन । मास्क लगाउन त झन् छाड्नु नै हुँदैन ।

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्