भारतमा कोरोनाको संक्रमण बढिरहेको बेलामा अब घरमा बस्दा पनि मास्क लगाउने दिन आएको एक चिकित्सकले बताएका छन् ।
नीति आयोगका सदस्य डा भीके पलले बताएअनुसार, अहिले कसैलाई पनि घरमा बोलाउनुहुँदैन अनि आफू पनि अरूको घरमा जानुहुँदैन । अनि कोरोनाको आरम्भिक लक्षण देख्नेबित्तिकै घरमै आइसोलेट भएर बस्नुपर्छ ।
त्यस्तै डा रणदीप गुलेरियाले लक्षण देखिनेबित्तिकै तत्काल आइसोलेट हुन र रिपोर्ट नकुरिरहन भनेका छन् । आरटी–पीसीआर टेस्ट नेगेटिभ आउने सम्भावना रहे पनि लक्षण छ भने संक्रमित मानेर सबै गाइडलाइन अनुसरण गर्नुपर्छ ।
त्यस्तै स्वास्थ्य सचिव लव अग्रवालले मास्क नलगाउँदा जोखिम बढ्ने कुरा गरे । दुई मानिसले मास्क लगाएनन् र भौतिक दूरी पालन गरेनन् भने कोरोना संक्रमणको खतरा ९० प्रतिशतसम्म बढ्न सक्छ । मास्क लगाउने अनि गाइडलाइन पालन गर्ने हो भने जोखिम ३० प्रतिशतमा झर्छ ।
उनका अनुसार, गाइडलाइन पालन नगर्दा एकजना संक्रमितले एक महिनामा ४०६ जनालाई संक्रमण सार्न सक्छ ।