०९ साउन २०८३, शनिबार
च्यासलमा ओलीको सम्बोधन

लोकतन्त्र अपहरित भएको छ, संयुक्त संघर्ष जरुरी भइसक्यो- ओली

असार १६, २०८३
काठमाडौं
लोकतन्त्र अपहरित भएको छ, संयुक्त संघर्ष जरुरी भइसक्यो- ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्तबीच कार्यगत एकताका साथ संयुक्त संघर्षमा जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेकपा (एमाले) राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई मंगलबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘अपहरित लोकतन्त्र’लाई फर्काउन संयुक्त संघर्ष जरुरी रहेको बताएका हुन् ।

‘देशमा गरिएको वितण्डाविरुद्ध रहेका सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरूबीच कार्यगत एकता गरी संयुक्त संघर्षमा जानुपर्छ’, ओलीले भने, ‘गत फागुन २१ गतेको निर्वाचन २०८२ भदौ २३ र २४ गते गरिएका अपराधलाई वैधानिकता दिन मञ्चन गरिएको नाटक हो । गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कसले चलायो र दुई दिनका घटनामा सुरक्षा संयन्त्र किन निस्प्रभावी भए ?’

ओलीले ती अपराधका घटनालाई ढाकछोप गर्न आयोग बनेको टिप्पणी गरे । उनले गत भदौ २३/२४ को घटना संविधान, लोकतन्त्र र एमाले विरुद्धको आक्रमण र षडयन्त्र थियो भन्दै त्यो उपद्रव युवा विद्रोह, आन्दोलन थियो भन्ने भ्रममा नपर्न आग्रह गरे । 

अध्यक्ष ओलीले अहिले पार्टी एकताको सम्भावना नरहेको र त्यस भ्रममा नपर्न नेताकार्यकर्तालाई आग्रह समेत गरे । 

‘हामी समूहगत र संस्थागत एकता गर्दैनौं तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौं’, उनले भने । 

अध्यक्ष ओलीले पार्टी एकतामा पवित्रता चाहिने बताउँदै विगतमा त्यो नदेखिएको सुनाए । ‘एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच देखियो’, उनले भने ।

ओलीले निष्क्रिय रहेका पार्टी कमिटीलाई सक्रिय बनाउन पुनर्गठन गर्न सकिने बताए । उनले पार्टीमा एकता, फेरि पनि एकता र अझ बलियो एकताको आवश्यकता रहेको उल्लेख गरे ।  

‘शत्रुहरूले आक्रमण गरिरहेको यसबेला पार्टीलाई विजयतर्फ अगाडि बढाउन के गर्नुपर्छ, त्यसदिशामा राय सुझाव दिन दिनुहोला’, ओलीले भने । 

salt training

कमेन्ट गर्नुहोस्