आफ्नो र अरूको जीवन जोगाउन फेरि एकपटक नागरिक सचेत बन्नुपर्ने समय

मानव सभ्यतालाई चुनौती दिइरहेको कोरोनाभाइरस कोभिड–१९ को दोस्रो लहरले नेपाललाई फेरि सन्त्रस्त बनाएको छ ।

खुला सीमा रहेको छिमेकी भारतमा डढेलो जस्तै फैलिएको कोरोना महामारीको फिलिङ्गा नेपालमा पनि यत्रतत्र छरिएको छ ।


Advertisement

स्थितिलाई भयावह हुन नदिन सरकारले काठमाडौं उपत्यका लगायत संक्रमण फैलिरहेका जिल्लामा दुईदिनको समय दिएर निषेधाज्ञा लगाउने निर्णय गरिसकेको छ । 

पूर्ण रूपमा खोप तयार भइनसकेको तथा प्रयोगमा आएका खोप पनि परीक्षणमै रहेकाले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने र भीडभाडमा नजाने लगायत स्वास्थ्य प्रोटोकल पालना गर्नु नै यसबाट जोगिने उपाय हो । तर, हामी नेपालीलाई नीति नियम नमान्ने र सरकारको आग्रह उल्लंघन गर्नु बहादुरी जस्तो लाग्छ । कोरोनाको महामारी नियन्त्रणमा आइनसकेको समयमा ठूल्ठूला भोज भतेर गरेर ठाँट र रवाफ देखाउन प्रतिस्पर्धा नै भयो । 

ढिलासुस्ती हाम्रो सरकारी संयन्त्रका पर्याय नै हुन्, कोरोनाका लागि पूर्वतयारी शून्यजस्तै छ । राज्य संयन्त्र कमजोर फितलो भयो भन्दै आमनागरिकहरू आफ्नो कर्तव्य र दायित्वबाट बिमुख बन्न मिल्दैन । प्रार्थना गरौं, भारतमा जस्तो स्थिति नेपालमा आउने छैन । भारतमा जस्तो भयावह भयो भने नेपालको स्वास्थ्य संरचनाले थाम्न सक्ने छैन । त्यसको शुरूआती लक्षण नेपालगञ्जमा देखिइसकेको छ ।

कोरोनाको संकट भयावह भयो भने सर्वसाधारणले अस्पतालमा बेड नपाउने स्थिति बन्न सक्छ । त्यो स्थिति निम्तिन नदिने भूमिका भने सर्वसाधारण जनताको हातमा छ । जनताले लापरवाही गरेमा अस्पतालबाहिर छट्पटाउनुको विकल्प हुने छैन ।

व्यक्तिगत रूपमा अपनाउने सावधानीले, स्वयं व्यक्ति, परिवार र समाजलाई सुरक्षित गर्छ । कोरोनाको चेन ब्रेक गर्नका लागि व्यक्तिगत सावधानी नै अहिलेका लागि सबैभन्दा ठूलो उपाय हो ।

कोरोना संकट शुरू भएको समयमा गतवर्ष पनि हामीले सम्पादकीयमार्फत नागरिकलाई स्वयं सचेत हुन अपिल गरेका थियौं । गतवर्ष दिइएको उदाहरण यसपटक पनि सान्दर्भिक हुन सक्छ, सन् २००८ मा भूकम्पपछिको सुनामीले फुकुसीमा आणविक भट्टीमा क्षति पुर्‍याइदिएपछि जापान सरकारले सर्वसाधारणलाई विद्युतीय उपकरण सकेसम्म कम प्रयोग गर्न आग्रह गर्‍यो ।

सरकारको आग्रहलाई सर्वसाधारणले यसरी समर्थन गरे कि प्रमुख विद्युत् उत्पादन गृह बन्द हुँदा पनि विद्युत् आपूर्तिमा कुनै समस्या आएन । संकटका बेला जापानी नागरिकहरूले राज्यलाई गर्ने सहयोग सचेत नागरिकको अनुपम उदाहरण हो । 

संकटको समयमा नागरिकले देखाउनुपर्ने भूमिका यस्तो हो, कोरोनाले संसारलाई हल्लाइरहेको समयमा सर्वसाधारण जनताले आफू अनुशासनमा बस्दा पनि धेरैलाई जोगाउन सक्छन् । दण्डहीनताले गुज्रिएको हाम्रो मुलुकमा समाजका अगुवाहरू नै प्रशासनले निषेध गरेका काम गर्दा आफूलाई प्रभावशाली ठान्छन् । तर कोरोनाको भाइरसले ठूलो सानो भन्दैन, धनी गरीब चिन्दैन । 

कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि सरकारले निषेधाज्ञामार्फत भीडभाड कम गर्ने पहलकदमी लिएको छ । यस्ता निषेधाज्ञा, लकडाउन या बन्दले अर्थतन्त्रमा पार्ने क्षतिको अनुमान गर्न सकिँदैन । परन्तु जनताको जीवन जोगाउने कुरा अन्य कुरासँग तुलना हुँदैन ।

कोरोना संक्रमणलाई थप फैलिन नदिन नेपाल चिकित्सक संघले बढी प्रभावित भएको क्षेत्रमा स्वास्थ्य संकटकाल लगाउने लगायत ११ बुँदे सुझाव दिएको छ । चिकित्सक संघले सर्वसाधारणसँग समेत ५ बुँदे अपिल गरेको छ ।

चिकित्सक संघको सुझाव समेतलाई मध्यनजर गर्दै अस्पतालहरूमा बेडको संख्या बढाउने, अक्सिजन लगायत आवश्यक मेडिकल सामग्रीको जोहो गर्ने काममा सरकार अग्रसर हुन जरुरी छ । सरकार र नागरिक दुवैले आफ्नो कर्तव्य र दायित्व इमानदारी साथ पूरा गर्दा कोरोनाको महामारीलाई जित्न सकिन्छ ।

 

लोकान्तर सम्पादकीय
लोकान्तर सम्पादकीय

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्