३२ असार २०८३, बिहीबार

निषेधाज्ञाका बेला महिला हिंसा नहुने प्रबन्ध मिलाउन सरकारलाई निर्देशन

बैशाख १४, २०७८
निषेधाज्ञाका बेला महिला हिंसा नहुने प्रबन्ध मिलाउन सरकारलाई निर्देशन

प्रतिनिधि सभाको महिला, बालबालिका तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । 

समितिको मंगलवार बसेको बैठकले निषेधाज्ञाको समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, फरक रूपले सबल तथा लैंगिक अल्पसंख्यकमाथि हुनसक्ने हिंसा नियन्त्रणका लागि पूर्व तयारी गर्न गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले लिङ्ग, वर्गमैत्री क्वारेन्टीनको प्रबन्ध समयमै मिलाउन पनि निर्देशन दिएको छ । बैठकमा समिति सभापति सभापति निरुदेवी पालले भनिन्, ‘देशमा देखिएको कोभिड–१९ को दोस्रो लहर नियन्त्रण एवं रोकथामका लागि विभिन्न क्षेत्रमा गरिएका निषेधाज्ञा एवं बन्दाबन्दीको क्रममा विगतको अनुभवबाट शिक्षा ग्रहण गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक, फरक रूपले सबल एवं लैंगिक अल्पसंख्यकहरूमाथि हुनसक्ने हिंसा न्यूनीकरण, नियन्त्रणमा पूर्व तयारी गर्न उल्लेखित लिङ्ग, वर्गमैत्री क्वारेन्टीनको प्रबन्ध समयमा नै मिलाउन तथा आगामी दिनमा देखिन सक्ने चुनौतीलाई पूर्व आकलन गरी कार्यसम्पादन गर्न/गराउन समिति नेपाल सरकार, गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ ।’

बैठकमा समिति सदस्य ध्रुवकुमार शाहीको संयोजकत्वमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, पिछडिएको वर्ग र अपाङ्गता सम्बन्धी विद्यमान अवस्था र सम्बन्धित कानूनको कार्यान्वयनको अवस्थाको सम्बन्धमा गरेको स्थलगत अध्ययनमाथि पनि छलफल भएको थियो ।

अध्ययन भ्रमणको विस्तृत प्रतिवेदन समितिको आगामी बैठकमा प्रस्तुत गरिने निर्णय पनि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्