
सांसदको पीसीआर जाँच हुनुपर्ने माग गर्दै अवरुद्ध गण्डकी प्रदेश सभाको बैठक सबै सांसदको पीसीआर जाँच गरेर सञ्चालन गर्ने सहमति भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै सांसदको मंगलवार नै स्वाब संकलन गरी जाँच गर्ने सहमति जुटेको छ ।
जाँचपछि कोरोना पोजेटिभ देखिएका सांसदले बुधवार हुने मतदानमा भाग लिन पाउने छन् तर संसदमा बोल्न दिइने छैन ।
संसद बैठक बुधवार दिउँसो १ बजेलाई बोलाइएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।
कोरोना महामारीका बेलामा सांसदको पीसीआर जाँच नगरिकनै बैठक चलाउन नपाइने भन्दै सत्तापक्षकै सांसदले मंगलवारको बैठक अवरुद्ध गरेका थिए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि बुधवार मतदान हुँदैछ ।