
मंगलवार नेप्से परिसूचकमा ९२ अंकको उछाल देखिएको छ।
गत सात कारोबार दिनमा २३० अंकले घटेको नेप्से सूचक मंगलबार एकैदिन साढे ३ प्रतिशत भन्दा धेरैले बढेको हो।
यस दिन ९२.४६ अंकले बढेर शेयर बजार २५९९.०८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ सूचक पनि १४.४८ अंकले बढेर ४६७ विन्दुमा पुगेको छ।
परिसूचक बढेपनि कारोबारमा भने सुधार भएको छैन । सोमवार ६ अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलवार ५ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये एक कम्पनीको मात्रै शेयरमूल्य केही घटेको छ भने अन्य सबै कम्पनीको शेयरमूल्य बढेको छ।
१० कम्पनीकाे सकारात्मक सर्किट लेभलमा कारोबार
यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये १० वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ।
मंगलबार अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बिशाल बजार कम्पनीको ९.९९ प्रतिशत, महिला लघुवित्तको ९.९६ प्रतिशत, युनाइटेड इन्स्योरेन्सको ९.८९ प्रतिशत, समिट लघुवित्तको ९.७५ प्रतिशत र मल्टिपर्पस फाइनान्सको ९.६४ प्रतिशतले बढेको छ।
यता गुडविल फाइनान्सको शेयरमूल्य भने १.०९ प्रतिशतले घटेको छ।
मंगलवार अपर तामाकोशीको सबैभन्दा धेरै २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको २१ करोड १६ लाख, नेपाल रि इन्स्योरेन्स कम्पनीको १४ करोड ५१ लाख रुपैयाँ नविल बैंकको १३ करोड ५२ लाख रुपैयाँ र छिमेक लघुवित्तको १३ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ६.४८ प्रतिशतले बढेको छ।