
कोरोना भाइरस संक्रमणको महामारीबीच चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब ७८ करोड बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएकोमा चालू आर्थिक वर्षको ९ महिनाको अवधिमै ३ अर्ब ६ करोड बराबरको ९ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आव २०७५/०७६ मा २५ हजार २०५ मेट्रिक टन चिया उत्पादन हुँदा आव २०७६/०७७ मा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो ।
गत वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर परे पनि अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षति व्यहोर्नुपरेन । लकडाउनबीच पनि स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी बोर्डको अग्रसरतामा चिया बगान र उद्योग सञ्चालनमा रहेका थिए । यस समयमा अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।
बोर्डले वैशाख १५ गते बुधवार ‘स्वदेशमा उत्पादित चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय चिया दिवसको २५ औं संस्करण मनाउँदैछ । नेपालले धेरै उपभोग्य वस्तु आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैं उत्पादन गरी आत्मनिर्भर भएको पनि धेरै भइसकेको छ ।
स्वदेशमा चिया उपभोग गरी बढी भएको उत्पादन भारत लगायतका तेस्रो मुलुकमा निर्यात भइरहेको छ । नेपाली चियाको खपत वार्षिक २०० ग्राम प्रतिव्यक्तिभन्दा कम रहेको अनुमान गरिन्छ । छिमेकी मुलुक भारतमा भने वार्षिक ३३० ग्राम प्रतिव्यक्ति खपत रहेको छ ।
आन्तरिक खपत वृद्धि गर्न निर्यातका अलावा स्वदेशी बजार विस्तारमा चिया उद्यमी र सरोकारवाला लाग्नुपर्ने उनको भनाइ छ । चियामा पाइने थिफलाबिन तत्वले कोरोना भाइरसको असरलाई समेत रोक्न सहयोग पुग्ने चिया अनुसन्धान संघले जनाएको छ ।