
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण प्रभावित अर्थतन्त्रलाई लयमा नै राख्न यसअघि घोषणा गरिएको राहत कार्यक्रम निरन्तर नै रहने बताएका छन् ।
केन्द्रीय बैंक ६५ वर्ष पूरा गरी ६६ औं वर्षमा प्रवेश गरेको अवसरमा मंगलवार श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर न्यूनीकरण गरी अर्थतन्त्र पुनरुत्थान गर्ने आफूहरू प्रयास निरन्तर नै रहने बताए ।
पछिल्लो १ वर्षमा मूल्य, वित्तीय र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै कोभिड–१९ को नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न, आर्थिक पुनरुत्थान गर्न र विषय परिस्थितिमा पनि बैंकिङ सेवा सञ्चालन राख्न सम्पादन भएका कामका साथै समष्टिगत आर्थिक अवस्था सकारात्मक रहेको उनको छ ।
‘कोभिड–१९ ले सिर्जना गरेको असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैरपरम्परागत, लचिलो एवं सहजीकरण सहितका नीतिगत व्यवस्थालाई आर्थिक तथा वित्तीय स्थायित्व र मौदिैक उद्देश्यमाथि थप जोखिम सिर्जना नहुने गरी निरन्तरता प्रदान गरिने छ,’ गभर्नर अधिकारीले भने ।
चालू आवको मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भइरहेको उनको भनाइ छ । उनले साना तथा मझौला उद्यम, कृषि, ऊर्जा, पर्यटनलगायत उत्पादनशील क्षेत्रतर्फ निर्देशित गरी आर्थिक पुनरुत्थानका लागि सहयोग जारी रहने बताए ।
वित्तीय उपकरण एवं पूर्वाधारको समयसापेक्ष विकास गर्ने, विद्युतीय भुक्तानी माध्यममार्फत कारोबारको प्रवद्र्घन गर्ने र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण गर्नेतर्फ प्रतिबद्ध रहेको उनको जोड थियो ।