
चितवन, १५ जेठ– माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मतपत्र नेकपा एमालेले च्यातेको आरोप लगाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जिल्ला संगठन समिति चितवनले विज्ञप्ती जारी गर्दै मतगणनामा एमालेका प्रतिनिधिले मतपत्र च्यात्न थालेपछि आफूहरुले मतपत्रको रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिन पुगेको जनाएको छ ।
पार्टी इन्चार्ज ईश्वरी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ मतगणना चलिरहदा हाम्रो उम्मेदवारको मत अन्तर करीव ३९०० बाट घटेर जीत तर्फ बढी रहेको अवस्थामा एक्कसी एमालेका मतगणना प्रतिनिधिहरुले मतपत्र कव्जा गरी च्यात्न लागेपछि हाम्रो पार्टीका मतगणना प्रतिनिधिले मतपत्र रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिन पुगे’ विज्ञप्तिमा भनिएको छ, ‘याे वास्तविकतालाई बङ्ग्याई सञ्चार माध्यम र सामाजिक सञ्जालबाट एमालेले पार्टी बिरुद्धको प्रचार चलाएको छ । हामी त्यस कार्यको घोर न्दिा एवं भत्सर्ना गर्दछौं ।’
माओवादीले घटना स्थलबाट गिरफ्तार गरिएका आफ्ना नेताहरु द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेको तत्काल रिहाइको माग गर्दै पुन मतदान गर्न माग गरेको छ ।
