
पूर्वी नाकाबाट भारतीय यात्रीको प्रवेशलाई पूर्ण रूपमा बन्देज गरिएको छ ।
कोरोना विपद् व्यवस्थापन केन्द्रको निर्णयअनुसार पीसीआर रिपोर्ट भएका भारतीयलाई समेत प्रवेश निषेध गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।
‘भारतीयलाई मंगलबारबाट लागू हुने गरी प्रवेशमा रोक लगाइएको हो,’ प्रजिअ तिम्सिनाले भने, ‘नेपालीहरूलाई समेत पारि नजान अनुरोध गरिरहेका छौं ।’ नेपालले भारतीयलाई रोक लगाएपछि भारतीय अधिकारीले समेत नेपालीलाई रोक लगाउने तयारी गरिरहेको बुझिएको छ ।
‘हामीले भारतीयलाई रोकेपछि उताको सुरक्षाकर्मीले पनि नेपालीलाई रोक्ने पक्का छ,’ एक सुरक्षाकर्मीले भने । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहालका अनुसार केही दिनअघि भारतीयहरू नक्कली पीसीआर रिपोर्ट बोकेर नेपाल प्रवेश गरेको खुलासा भएको थियो ।
भारतीय बजारका क्लिनिकहरूले नक्कली पीसीआर रिपोर्ट महँगो शूल्य लिएर बिक्री गर्ने गरेको प्रहरीले जानकारी पाएको थियो । कतिपय निजी क्लिनिकले एउटा पीसीआर रिपोर्टको १० हजार भारुसम्म असुलेको थाहा भएको छ । भारतीय नागरिक पवन घोषले पीसीआर रिपोर्ट छिटो चाहिनेहरूलाई महंगो शुल्कसमेत लिने गरेको बताए ।
जिल्लास्थित कोरोना विपद् व्यवस्थापन केन्द्रको सोमवारको बैठकले काँकडभिट्टा नाकामा १ हजार यात्री क्षमताका होल्डिङ सेन्टरको स्तरोन्नति र भद्रपुरस्थित कलवलगुडीमा ५ सय क्षमताको अर्को होल्डिङ सेन्टर निर्माणका लागि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई अनुरोध गरेको छ । नाकामा आउजाउ नियन्त्रणका लागि सशस्त्र प्रहरीको छुट्टै फोर्स तैनाथ गरिने प्रजिअ तिम्सिनाले जनाए ।
यतिबेला भारतबाट घर फर्किने यात्रीको चटारो छ । नाका पूर्ण रूपमा सिल हुने भयका कारण भारतका विभिन्न सहरमा काम गर्ने श्रमिक, विद्यार्थीहरू धमाधम घर फर्किरहेका छन् । नाका रहेका स्वास्थ्यकर्मीले सामान्य ज्वरो मात्रै जाँचेर उनीहरूलाई प्रवेश दिइरहेका छन् ।
‘दिल्ली, मुम्बईबाट आएकाहरूलाई एन्टिजेन परीक्षणपछि मात्रै प्रवेश दिएका छौं,’ स्वास्थ्यकर्मी रूपसना खातुनले सुनाइन्, ‘अरूलाई ज्वरो मात्रै नापेर पठाइँदैछ ।’ मंगलवार साँझसम्म यो नाकाबाट ७२५ जना भारतीय बाहिरिएका छन् भने ५३० नेपाली भित्रिए । कान्तिपुर दैनिकमा खबर छ ।