
उत्तर कोरियाले रोगीहरूका लागि अस्पतालमा चीनबाट कमसल उपकरण ल्याएको आरोपमा एक सरकारी अधिकारीलाई मृत्युदण्ड दिएको छ ।
किम जोङ उनले सन् २०२० को मार्च महिनामा निकै हल्लाखल्ला गरी प्योङयाङ सदर अस्पतालको शिलान्यास गर्दै ६ महिनाभित्र त्यो बनाइसक्न आदेश दिएका थिए ।
तर उनले भनेको डेडलाइनमा भवनको निर्माण पूरा हुन सकेन । भवनको स्वरूप त तयार भयो तर त्यसमा आधारभूत सुविधाहरू थिएनन् ।
यस्तो लापरवाहीको दण्ड सरकारी अधिकारीले भोगेका छन् ।
किमले अस्पतालमा युरोपबाट ल्याइएका स्वास्थ्य उपकरण राख्न चाहेका थिए ।
तर अस्पतालमा चिनियाँ उपकरण प्रयोग गरेको पाइएपछि किम बेस्सरी रिसाएका थिए ।
झुण्ड्याइएका व्यक्ति परराष्ट्र मन्त्रालयका उपनिर्देशक थिए र उनी विदेशी सामान आयातका लागि जिम्मेवार थिए ।
स्वास्थ्य मन्त्रालयका एक कार्यकारीलाई पनि बर्खास्त गरिएको छ ।
किमले आफ्नो बाल्यकाल स्विट्जरल्यान्डमा बिताएका थिए र उनलाई युरोपेली सामानहरू गुणस्तरीय हुन्छन् भन्ने परेको छ ।
त्यसैले किमको वर्कर्स पार्टीले किमको इच्छामुताबिक अस्पताल सजाउनका लागि ठूलो बजेट छुट्ट्याएको थियो ।