
ललितपुरमा बस्ती नजिकै चितुवाको बच्चा फेला परेको छ । स्थानीयले चितुवाको बच्चा देखेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी प्रभाग बुङमतीका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) लोकबहादुर गुरुङले बुङमती नजिकैको खैचा भन्ने स्थानमा चितुवाको दुई वटा बच्चा फेला परेको बताए । स्थानीयको खबरसँगै पुगेको प्रहरी टोलीले चितुवालाई उद्दार गरेर ल्याउनुका साथै जिल्ला बन कार्यालयको जिम्मा लगाएको गुरुङले जानकारी दिए ।
‘बस्ती नजिकैको झाडीमा चितुवाले बच्चा जन्माएको रहेछ, स्थानीयले देखेपछि प्रहरीमा खबर आएपछि हाम्रो टोलीले उद्दार गरी जिल्ला बन कार्यालयको जिम्मा लगाएको छ’, उनले भने, ‘चितुवाको माउ देखिएको छैन, बच्चा निकै सानो रहेछ ।’
चितुवाको बच्चा भेटिएको सो क्षेत्र जंगल नजिकै पर्छ । राजधानी आसपासका क्षेत्रमा विभिन्न समयमा चितुवा बस्तीमा भेटिने गरेको छ । जंगल मासिँदै जानु, आहाराको अभावलगायतका कारणले जंगली जनावर बस्तीमा आउने गरेको बताइन्छ ।