
भारतका कोरोनाको कहर जारी रहँदा गोरखपुरको एक निजी अस्पतालका कोरोना संक्रमित पतिको उपचार गराइरहेकी महिलाले हैरान भएर बुधवार आत्महत्या गरेकी छन् ।
दुई दिनअघि कोरोनाका कारण ती महिलाका ससुराको ज्यान गएको छ ।
मेडिकल कलेज रोडमा रहेको निजी अस्पतालमा पतिको उपचार गराउन ती महिला क्याम्पियगञ्जबाट आएकी थिइन् । उपचारका क्रममा पतिलाई सास फेर्न गाह्रो परिरहेको थियो । अस्पताल प्रशासनले महिलालाई अक्सिजनको व्यवस्था गर्न भन्यो । महिलाका पिता अक्सिजन खोज्न हिँडे । त्यसैबीचमा महिलाले अस्पताल भवनको पछाडि गएर आत्महत्या गरिन् ।
महिलाका पिताका अनुसार, निकै दुःख गरी अक्सिजन खोजेर ल्याउँदा छोरीलाई उनले भेटेनन् । अलिबेर कुरेपछि उसलाई फोन गरे तर फोन उठेन । त्यसपछि सोधखोज गर्दा एकजनाले अस्पतालपछाडि एक महिलाले फाँसी लगाएको खबर दिए । गएर हेर्दा त छोरी नै फाँसीमा झुण्डिएकी रहिछन् ।
पिताले रुँदै भने, ‘दुई दिनअघि मात्र सम्धीज्यूको ज्यान कोरोनाले लिएको थियो । घरमा साना दुई बच्चा छन् । ज्वाइँ पनि कोरोना संक्रमित हुनुभयो र अस्पतालमा भर्ना गरियो । अक्सिजन चाहिएपछि खोज्न जाँदा छोरीले यस्तो काम गरिछे ।’
ससुराको मृत्यु अनि पतिको यस्तो हालत देखेर सहन नसकी छोरीले आत्महत्या गरेको उनले बताए ।
अस्पताल प्रशासनले तत्कालै प्रहरीलाई खबर गरेको थियो । प्रहरीले महिलाको शव बरामद गरी पोस्टमोर्टमका लागि पठाएको छ ।