अफगानिस्तानको हेरातमा आफ्ना प्रेमीसँग फोनमा कुराकानी गरेको आरोपमा एक युवतीलाई तालिबानले कोर्रा हानेर सजाय दिएको छ ।
युवतीलाई चौबाटोमा मान्छेको भीड जम्मा पारेर ४० पटक कोर्रा हानिएको थियो । उनीमाथि कोर्रा बर्साइँदा अरू चाहिँ भिडियो बनाएर बसेका थिए ।
युवतीले फोनमा प्रेमीसँग कुरा गरेको थाहा पाएर कसैले उजुरी गरेका थिए । शुरूमा मानिसहरूले उनलाई बेस्सरी गाली गरे अनि तालिबानकहाँ लगे । मौलानाले त्यसपछि कोर्रा हान्ने सजाय दिए ।
कोर्रा खाँदै गर्दा युवती माफी पनि मागिरहेकी थिइन् । उनी रोइरहेकी थिइन् । तर कसैको पनि मन पग्लिएन ।
अफगानिस्तानबाट अमेरिकी सेना हट्ने भएपछि तालिबानको मनोबल झनै बढेको छ । पहिलेको जस्तै गरी उनीहरू महिलामाथि अत्याचार गर्न थालेका छन् ।