
कोरोना संक्रमित बिरामी बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा शय्या र दक्ष जनशक्तिलगायत स्रोतसाधनको अभाव देखिन थालेको छ ।
महाकाली अस्पतालमा शंकास्पदको नमूना परीक्षण गर्न आवश्यक पर्ने कीटको अभाव समेत देखिएको छ ।
कीट अभाव हुँदा कन्ट्याक्ट ट्रेसिङ र एन्टिजेन परीक्षणको काम गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी राजकुमार महतोले बताए । ‘५० शय्याको महाकाली अस्पताल र १०० शय्याको अर्को एक अस्पताल संक्रमित बिरामीले भरिएका छन्,’ उनले भने, ‘महाकाली अस्पतालमा नमूना परीक्षण गर्ने पीसीआर मशिन अपर्याप्त भएको र आवश्यक जनशक्ति समेत नहुँदा समस्या भइरहेको छ ।’ अस्पतालमा एउटा पीसीआर मशिन सञ्चालनमा छ ।
प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीका आकस्मिक बाहेकका सबै सेवा बिहीवारबाट बन्द गरिएको छ । अस्पतालमा कोभिड–१९ का बिरामीका लागि व्यवस्था गरिएका ५५ शय्यामध्ये ५२ शय्या संक्रमित बिरामीले भरिएका छन् ।
कोरोना संक्रमितको नमूना परीक्षण गर्ने अस्पतालका २ पीसीआर मशिनमध्ये १ मशिन मात्र सञ्चालनमा छ । अहिलेकै अवस्थामा कोरोनाको संक्रमण दर बढ्दै जाँदा अस्पतालमा शय्या, जनशक्ति र अक्सिजनको अभाव हुने सम्भावना रहेको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए । ‘अक्सिजन, शय्या र जनशक्ति अभाव हुन नदिन निरन्तर पहल गरिरहेका छौं,’ उनले भने ।
अस्पतालमा कोरोना संक्रमितमध्ये ८ जनालाई सघन उपचार कक्ष र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने २३ जनालाई अक्सिजन दिएर तथा बाँकीलाई मोड्रेटमा राखेर उपचार भइरहेको बताइएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा बिहीवार बिहान ६ः०० बजेदेखि राति १२ः०० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ । कोरोना संक्रमण दर गुणात्मक रूपमा बढेपछि यसको ‘चेन ब्रेक’ गर्न निषेधाज्ञा लागू गरिएको हो । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा भने सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।