२९ जेठ २०८३, शुक्रबार

लुम्बिनीका सभामुखलाई महन्थ ठाकुरको पत्र : जसपा सांसदलाई कुनै कारवाही भएको छैन

बैशाख १६, २०७८
लुम्बिनीका सभामुखलाई महन्थ ठाकुरको पत्र : जसपा सांसदलाई कुनै कारवाही भएको छैन

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशसभा सभामुखलाई पत्र पठाएर प्रदेशसभा सदस्यहरूलाई कुनै कारवाही नभएको स्पष्ट पारेका छन् ।

बिहीवार प्रदेशसभा सचिवालय जसपाका ४ सांसदलाई पार्टी कार्यकारिणी समितिले पार्टी सदस्यबाट निष्कासन गरेको व्यहोरासहित सूचना टाँस गरेको छ ।

जसपा अध्यक्ष ठाकुरले लुम्बिनीका सभामुखलाई बिहीवारै पत्र लेखेर कार्यकारिणी समितिबाट कसैलाई पनि कारवाही नभएको र लुम्बिनीमा ६ सदस्यीय प्रदेश संसदीय दललाई नै लोकतान्त्रिक तरिकाले निर्णय गर्ने स्वायत्तता दिइएको जनाएका छन् । जसपा संसदीय दलका ६ सदस्यमध्ये ४ सदस्य सरकारको पक्षमा लागिसकेका छन् ।

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ सांसदलाई पार्टीबाट निष्कासन गरिएको सूचना प्रदेशसभा सचिवालयले टाँस गरेपछि विवाद उत्पन्न भएको छ ।

सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरिएको सूचना बिहीवार प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ ।

जसपा कार्यकारिणी समितिले कारवाही गरेको भनेर सूचनामा उल्लेख भए पनि यसबीच कार्यकारिणी समितिको बैठक नै नबसेको नेता राजेन्द्र महतोले लोकान्तरलाई जानकारी दिए । ‘कारवाहीको कुरा सबै फर्जी काम भएको छ, फर्जी कामलाई सभामुखले मान्यता नदिनुपर्ने हो, हामी छलफल गर्छाैं,’ नेता महतोले भने ।

प्रदेशसभा सचिवालयले कारवाहीको सूचना टाँस गरेपछि सांसदहरू पदमुक्त भएको मानिन्छ । पार्टीको निर्णय विपरीत मन्त्री बनेपछि पार्टीले चारै सांसदलाई कारवाही गरेको सूचना टाँस भएको हो ।

जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका बेला पार्टी निर्णय विपरीत चारै जना प्रदेश सरकारमा मन्त्री बनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्