२९ जेठ २०८३, शुक्रबार

‘विद्युत् उत्पादनतर्फ’ तामाकोसी

बैशाख १७, २०७८
‘विद्युत् उत्पादनतर्फ’ तामाकोसी

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधबाट बिहीबार डिस्यान्डर बेसिनमा पानी पठाइएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले लामाबगरस्थित बाँधस्थलबाट स्विच दबाएर डिस्यान्डर बेसिनमा पानी पठाउने कार्यको सुरुवात गरेका हुन्। 

आयोजनाका प्रवक्ता गणेश न्यौपानेले मन्त्रीद्वयले पालैपालो स्विच थिचेर डिस्यान्डरमा पानी पठाउने कार्यको थालनी गरेको बताए। २ सय मिटर लम्बाइको डिस्यान्डर बेसिनमा पानी भरिन दुई दिन लाग्छ। ‘हामी विद्युत् उत्पादनको चरणमा प्रवेश गरेका छौं। यो आफैंमा खुसीको विषय हो। नेपालीले लामो समयदेखि देखेको एउटा सपना पूरा हुने चरणमा पुगेको छ’, प्रवक्ता न्यौपानेले भने।

आयोजना स्रोतका अनुसार डिस्यान्डर बेसिनबाट पठाएको पानी मुख्य सुरुङमा प्रवेश गर्नुअघि दुईवटा च्याम्बर पार गरेर जानुपर्ने हुन्छ। मुख्य सुरुङको विभिन्न स्थानमा अझै सरसफाइको काम चलिरहेको स्रोतको दाबी छ।

४५६ मेगावाटको यो आयोजनाका ६ ओटा युनिटमध्ये पहिलोबाट वैशाख मसान्तसम्म ७६ मेगावाट विद्युत् उत्पादनको तयारी भइरहेको छ। आयोजनाले विद्युत् उत्पादनको मिति भने सार्वजनिक गरिसकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि माथिल्लो तामाकोसीको काममा अनावश्यक ढिलाइ भईरहेको भन्दै असन्तुष्टि जनाएका थिए। 

सरकारका प्रवक्ता गुरुङले आयोजनाको सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ गरिएको जनाएका छन्। ‘नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा यो सबैभन्दा खुसीको क्षण हो। केही दिनभित्रै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सो आयोजनाबाट उत्पादन हुने विद्युत्को औंपचारिक रुपमा उद्घाटन गर्नु हुनेछ’, मन्त्री गुरुङले फेसबुकमा लेखेका छन्, ‘योसँगै नेपाल राष्ट्र र नेपाली जनताले विद्युत् निर्यातको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गौरवको अनुभूति पनि गर्न पाउनेछ।’ अन्नपूर्ण पोस्ट दैनिकमा रवीन्द्र गौतमले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्