२९ जेठ २०८३, शुक्रबार

पश्चिम बंगालमा मतपरिणाम जस्तो आओस्, जीत भाजपाकै भयो : विश्लेषक

बैशाख १७, २०७८
पश्चिम बंगालमा मतपरिणाम जस्तो आओस्, जीत भाजपाकै भयो : विश्लेषक

भारतको पश्चिम बंगालमा तृणमूल कांग्रेस र भारतीय जनता पार्टीबीच कडा टक्कर देखिएको छ । 

आइतवार हुने मतगणनाअघि विभिन्न सञ्चारमाध्यमले देखाएको एक्जिट पोलमा दुई दलबीच मसिनो अन्तरको मात्र फरक हुने देखिएको छ । 

अघिल्लो विधानसभा निर्वाचनमा जम्मा दुई सीट जितेको भाजपाले यसपालि चमत्कार गर्ने कतिपय विश्लेषकहरू बताइरहेका छन् । अन्य केही चाहिँ ममता बनर्जीको तृणमूल नै यसपालि पनि विजयी हुने बताइरहेका छन् । 

यसैबीच बंगालमा पाका तथा सम्माननीय पत्रकार नीलाञ्जन मुखोपाध्यायको विश्लेषण आएको छ । 

उनका अनुसार, बंगालमा मतपरिणाम जसको पक्षमा आए पनि जीत भाजपाकै भएको देखिन्छ । भाजपाले हिन्दू भोट सोहोर्नका लागि ध्रुवीकरणको नीति अपनाएपछि ममता पनि हिन्दूहरूलाई खुशी बनाउन मन्दिर धाएको देखियो । 

उनले चण्डीपाठ पनि गरिन् र आफू ब्राह्मण भएको पनि बताइन् । 

भारतमा अहिले मोदी सरकारको जतिसुकै कमीकमजोरी रहे पनि उसले मुसलमानहरूलाई ‘ठेगान लगाएको’ र यो एक उपलब्धि हो भन्ने सोच हावी भएको देखिन्छ र विपक्षीहरूलाई पनि यसले दिशानिर्देश गरेको पाइन्छ । 
ममताको कुरा गर्दा उनले यसपालि विधानसभा निर्वाचनमा मुसलमानहरूलाई पहिलेको भन्दा कम टिकट दिइन् । 

सबभन्दा ठूलो कुरा ममताको दलमा कुनै वैचारिक स्पष्टता छैन जबकि उनीअघिको वाममोर्चा विचारधारामा स्पष्ट थियो । 

ममताले भारतमा बहुसंख्यकवाद हावी भइरहेकोले त्यसबाट बचाउन भनी विपक्षी दलहरूको सहयोग मागेको देखिएन । उनलाई यसको कुनै चिन्ता छैन र यस्तो अवस्थामा उनी भाजपाभन्दा केही फरक छैनन् ।

अल्पसंख्यकहरूलाई राजनीतिक रूपमा किनारीकृत गरिएको चिन्ता पनि उनले व्यक्त गरिनन् । 

अर्थात् यस चुनावको एजेन्डा भाजपाले सेट गरेको हो र तृणमूल त्यसको प्रतिक्रिया मात्र दिइरहेको छ । 

त्यसैले मतगणनाअगावै राजनीतिक रूपमा भाजपाको विजय भइसकेको छ । 
 

कमेन्ट गर्नुहोस्