कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित बुटवलमा आजदेखि वज्र फेस्टिभल हुने भएको छ । व्यस्त शहरी जीवनशैलीका मानिसहरूलाई लक्षित गरी मनोरन्जन, मानसिक तनाव व्यवस्थापनका विविध आयाम जोडेर ग्रासल्याण्ड रेष्टुरेन्ट एण्ड बारमा ३ दिने वेलनेस कार्यक्रमसहितको बज्र फेस्टिबल हुने भएको हो ।
कार्यक्रममा संगीत, कला, खानपान, वेलनेस तथा सामुदायिक उत्सवलगायत समावेश रहेको ग्रासल्याण्ड रेष्टुरेन्ट एण्ड बार प्रबन्ध निर्देशक अनुप प्रधानले बताए । शुक्रबार पहिलो दिन स्थानीय बसन एण्ड द क्रुजको प्रस्तुत रहने कार्यक्रममा प्रवेश नि:शुल्क गरिएको उनले बताए । यसैगरी शनिबार र आइतबार दुई दिन भने परिवर्तन, डिजे शशान्क, द ब्याकडोर मेन, डिजे राजदिन लगायतको प्रस्तुति रहनेछन् ।
बज्र फेष्टिबलकै एउटा महत्वपूर्ण पाटोका रूपमा तनाव व्यवस्थापनको कार्यक्रम गरिने संयोजक समुन्द्र घिमिरेले बताए । साउण्ड हिलिङको एउटा अंशलाई जोड्ने गरि अष्टधातुबाट बनेको बलमा ध्वनी प्रवाह गरेर साउण्डबाट मानसिक थकानमुक्त गराउने मेडिटेसन गरिने छ ।
बिहान ५ देखि १० बजेसम्म हरेक उमेर समूहलाई जोडेर कार्यक्रम राखिएको उनले बताए ।
बच्चाहरूलाई पेन्टिङ, इलेक्टोनिक म्युजिक थेरापी, हिलिङ, ककाओ जस्ता नेपालमै लोप भएका पुराना विधिबाट मानसिक तनाव हटाउने र रमाइलो गराइने उनको दाबी छ ।