चीनले निकै गोप्य रूपमा लेफ्टिनेन्ट जनरल वाङ काइलाई तिब्बत सैन्य क्षेत्रको कमान्डर बनाएको साउथ चाइना मर्निङ पोस्टले खबर दिएको छ ।
उक्त पदमा रहेका वाङ हाइज्याङलाई सिन्ज्याङ उइगुर स्वायत्त क्षेत्रमा सरकारी अधिकारी बनाइएको छ ।
वाङ काइ सन् २०१३ मा चीनको शीर्षस्थ १३औं ग्रुप आर्मी कमान्डर बनाइएका थिए । उनको नेतृत्वमा उक्त स्पेसल कमान्डो युनिटले गोप्य कारवाहीहरू गरेको छ ।
चोङकिङमा रहेको १३औं ग्रुप लडाकू इकाइहरूमा प्रख्यात छ । यसले कठिन परिस्थितिमा पनि जंगल, उपत्यका र पहाडी क्षेत्रमा लडाइँ गर्न सक्छ ।
यस समूहले अन्य सबै चिनियाँ सैन्य समूहभन्दा बढी सम्मान पाएको छ ।
तिब्बत कमान्डमा धेरैजसो सैनिक युन्नान प्रान्तका सिपाही छन् । सन् २०१७ मा दोक्लममा भएको आमनेसामने र सन् २०२० को लद्दाख विवादका यसै ग्रुपका कमान्डो सैनिकहरू सहभागी थिए ।
यिनीहरूलाई तिब्बतमा स्थिरता कायम गर्न जिम्मेवारी दिइएको छ । यस कोरका पूर्व कमान्डरहरूमा जनरल जाङ युसिया पनि छन् । उनी चिनियाँ सेनाको सर्वोच्च निकाय केन्द्रीय सैन्य आयोगका दोस्रो सबभन्दा ठूला कमान्डर हुन् ।
चिनियाँ जनमुक्ति सेनाका पूर्व प्रशिक्षक सोङ चोङपिङका अनुसार, तिब्बत अहिले पनि चीनको चिन्ताको विषय हो । त्यसैले वाङ काइलाई उनको गहन युद्ध अनुभवका कारण यस इलाकाको जिम्मेवारी दिइएको हो ।
भारतका लागि यो खतराको संकेत भएको भारतीय सञ्चारमाध्यमले खबर दिएका छन् ।