
नेपालमा कोरोना भाइरस संक्रमण ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७२७ जनामा कोरोना पुष्टि भएको छ ।
बिहीवारको विवरण अनुसार झण्डै ५ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुने दर दिनदिनै बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १५ हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा आरटी–पीसीआरबाट ५ हजार ६५७ जना र एन्टिजेनबाट ७० जनामा कोरोना पुष्टि भएको छ ।
यससँगै देशभर कूल संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ९२८ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।
शुक्रवार देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाले थप ३३ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाले मृत्यु हुनेको कूल संख्या ३ हजार २७९ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोना ह्वात्तै बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको दर डरलाग्दो देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सर्वसाधारणलाई अपिल गर्दै देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिएकाले संवेदनशील बनिदिन अपिल गरेका छन् ।
कोरोना धेरै बढेकाले अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको अपिलमा उल्लेख छ ।