
सूचना तथा प्रसारण विभागले सेवा प्रवाह स्थगित गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार जिल्लामा निषेधाज्ञा लागू भएको तथा विभागमै कार्यरत केही कर्मचारीलाई कोभिड–१९ संक्रमण पुष्टि भएपछि विभागले शुक्रवार विज्ञप्ति जारी गरी वैशाख १९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको हो ।
कर्मचारीलाई कोरोना पुष्टि भएको तथा निजसँग निकट सम्पर्कमा रहेका केही कर्मचारीलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको जनाउँदै विभागबाट प्रदान गरिने पत्रकारको नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण, अनलाइन सञ्चारमाध्यम नयाँ/पुनः दर्ता/नवीकरण र प्रसारणतर्फको सम्पूर्ण सेवा प्रवाह गर्दा बढी जनसम्पर्क हुने विभागको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विभागका सेवा अनलाइन भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नहुने, बढी जनसम्पर्क हुने तथा कोरोनाको बढ्दो संक्रमणबाट सेवाग्राही तथा कर्मचारीलाई सम्भावित संक्रमणबाट जोगाउन अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगन गरिएको छ ।’