०४ साउन २०८३, सोमबार

सादगी तथा संघर्षकी प्रतिमूर्ति ममता बनर्जीलाई पत्याए जनताले

बैशाख १९, २०७८
सादगी तथा संघर्षकी प्रतिमूर्ति ममता बनर्जीलाई पत्याए जनताले

सादगीपूर्ण जीवनशैली तथा संघर्ष गर्न नडराउने स्वभाव भएकी ममता बनर्जी तेस्रोपटक पश्चिम बंगालमा कार्यकाल चलाउने स्थितिमा पुगेकी छन् । 

पश्चिम बंगाल लगभग ३४ वर्षसम्म वामपन्थीहरूको गढ थियो । तर ममताले वामपन्थीहरूसँग सडकमा निर्भीक तरिकाले भिडेर सन् २०११ मा तृणमूल कांग्रेसलाई पहिलोपटक विजयी बनाइन् । 

राजनीति कांग्रेसबाट शुरू गरेकी ममताले सन् १९९८ मा तृणमूल कांग्रेस बनाइन् र बंगालको राजनीतिमा बेग्लै पहिचान बनाउन थालिन् । 

ममताको जन्म सन् १९५५ को जनवरी ५ मा भएको हो । उनी जन्मेको केही वर्षपछि नै उनका पिता प्रोमिलेश्वर बनर्जीको निधन भएको थियो । आमा गायत्री बनर्जीले ममतासहित पाँच सन्तानलाई अनेकौं दुःखकष्ट सहेर पालनपोषण गरिन् । 

घरमा सधैं गरीबीको समस्या थियो । ममताले आमालाई सानैदेखि सघाउन थालिन् । 

उनी सानैदेखि राजनीति र पढाइ दुवैमा रुचि राख्थिन् । उनले कोलकाताको जोगमाया देवी कलेजबाट इतिहासमा अनर्स डिग्री हासिल गरेकी थिइन् । पछि कोलकाता विश्वविद्यालयबाट उनले इस्लामिक इतिहासमा स्नातकोत्तर गरिन् । उनले बीएड पनि गरिन् तथा कानून पनि अध्ययन गरिन् । 

ममता सामान्य सूतीको सारी र रबरको हवाई चप्पल लगाउँछिन् । कहिले पनि उनले तडकभडक गरिनन् । 

ममता चित्रकार र कवि पनि हुन् । सन् २००० मा तत्कालीन प्रधानमन्त्री अटलविहारी वाजपेयी ममताको घर जाँदा ममताको चित्रकला देखेर छक्क परेका थिए । 

कलेजमै ममताले कांग्रेसको सदस्यता प्राप्त गरी राजनीतिमा प्रवेश गरेकी थिइन् । सन् १९७६ देखि १९८० सम्म उनी बंगाल महिला कांग्रेस र युवा कांग्रेसको सचिव बनिन् । 

सन् १९८४ मा उनले दिग्गज वामपन्थी नेता सोमनाथ चटर्जीलाई हराएर राष्ट्रिय राजनीतिमा प्रवेश गरिन् । सन् १९८९ मा कांग्रेसले सबैतिर हार बेहोरेको थियो र ममता पनि हारिन् । 

तर सन् १९९१ मा उनी कोलकाताको निर्वाचन क्षेत्रबाट उठिन् र जितिन् । त्यसपछि भएका सबै चुनावमा सन् २००९ सम्म उनले लोकसभा चुनाव जितेकी हुन् । 

सन् २०११ मा तृणमूल कांग्रेसले लामो समयदेखि सत्तामा रहेको वामपन्थीलाई हरायो । त्यसपछि केन्द्र सरकारमा रेलमन्त्री रहेकी ममता बनर्जीले पदबाट राजीनामा दिइन् । पश्चिम बंगालको मुख्यमन्त्री बनेर उनी शासन चलाउन थालिन् । 
 

अल्पसंख्यकहरूलाई विभिन्न अधिकार दिने तथा कन्याहरूका लागि कल्याणका विभिन्न योजना बनाउने ममतालाई जनताले पुनः सत्तामा पुर्‍याएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्