
सरकारले वैशाख २७ गतेका लागि संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ गते सोमवारका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने जानकारी गराएका छन् । संसदमा विश्वासको मत लिने जानकारी गराएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।
बैठकको मिति तय भइसकेको अवस्थामा सरकारले वैशाख ६ गते संसदको हिउँदे अधिवेशन अन्त्य गरेको थियो । वैशाख २७ गते अधिवेशन शुरू गरेर सरकारले संसदमा प्रि–बजेट छलफल, सरकारका नीति तथा कार्यक्रम र १५ गते बजेट ल्याउने तयारी गरेको छ ।