भारतका चार राज्य तथा एक केन्द्रशासित प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनमा कांग्रेस पार्टीको हार भएको छ ।
पश्चिम बंगालमा त कांग्रेसले एउटा सीट पनि जित्न सकेन । अन्यत्र पनि उसले सत्ता हात पार्न सकेन । पुडुचेरीमा भएको सत्ता पनि मूर्खतापूर्ण ढंगले गुमाउन पुग्यो ।
राहुल गान्धी र प्रियंका गान्धीले असममा धेरै कोशिश गरेको भए पनि केही जोर चलेन । यस्तो अवस्थामा गान्धी परिवारको नेतृत्वमाथि प्रश्नहरू उठिरहेका छन् ।
कांग्रेस पार्टीमा विद्रोह तथा असन्तोषका स्वरहरू सुनिन थालेका छन् । बागी नेताहरूले गान्धी परिवारविरुद्ध मोर्चा खोलेका छन् ।
पाँचै राज्यमा चुनावी रणनीतिको सञ्चालन कांग्रेस नेतृत्व र गान्धी परिवारका निकटवर्तीहरूको हातमा थियो । कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी केरलको वायनाडबाट सांसद भएकाले विधानसभा चुनावमा उनको प्रतिष्ठा पनि दाउमा थियो । त्यसैले राहुलले त्यहाँ चुनाव प्रचारमा जोड दिएका थिए ।
अनि प्रियंका गान्धीले असममा ध्यान केन्द्रित गरेकी थिइन् । उनीहरूले आफूलाई दुई राज्यमा बढी केन्द्रित गरे ।
कांग्रेसको नयाँ अध्यक्ष चुनावअघि पाँच राज्यको मतपरिणामले गान्धी परिवार निकै दबाबमा छ । पार्टीको असन्तुष्ट समूह (जी २३) का नेताहरूले कांग्रेसका खुम्चिँदो जनाधारका बारेमा प्रश्न उठाइरहेका छन् । यो विद्रोही समूह थप मुखर हुने पक्का छ ।
गान्धी परिवारले पार्टीको बिजोक स्थितिका बारेमा उठेका प्रश्नको जवाफ दिन सहज छैन । कांग्रेस पार्टी अब बिस्तारै इतिहासको पन्नामा सीमित हुने स्थितिमा छ ।