भारतको उत्तर प्रदेशमा भएको पञ्चायत निर्वाचनमा विजयी भएको खबर पाएकी एक दुलहीले खुशीलाई रोक्नै सकिनन् ।
बिहे चल्दै गर्दा उनी मण्डपबाट सीधै मतगणनास्थल पुगिन् र जीतको प्रमाणपत्र लिइन् ।
घटना रामपुरको मिलक तहसीलमा पर्ने गाउँ मोहम्मदपुरको हो । त्यहाँ बरेलीबाट जन्ती आएको थियो ।
विवाह मण्डप सजेको थियो । दुलही पुनम विवाहका विभिन्न कर्मकाण्ड गरिरहेकी थिइन् ।
विवाह चल्दै गर्दा उनले पञ्चायत चुनाव जितेको खबर पाइन् ।
दुलाहासँग सातपटक अग्निपरिक्रमा सिध्याउनेबित्तिकै उनी दुलहीको वस्त्र र आभूषण लगाएरै मतगणनास्थल पुगिन् । दुलहीलाई मतगणनास्थलमा देखेर सबैजना छक्क परे । उनको जीतको कुरा थाहा पाएपछि सबैजनाले भाग्यको प्रशंसा गरे ।
पुनमले पञ्चायत चुनावमा प्रतिद्वन्द्वी शकुन्तलालाई ३१ मतले हराएकी हुन् । उनले कुल ६०१ मत पाइन् ।
विवाह र चुनाव जीतको डबल खुशी पुनमले पाइन् ।