०५ असार २०८३, शुक्रबार

कोरोना महामारीमा चरम शुल्क असुल्दै निजी अस्पताल

बैशाख २३, २०७८
कोरोना महामारीमा चरम शुल्क असुल्दै निजी अस्पताल

गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ ।

बिरामीका आफन्तका अनुसार नर्मल बेडमा एकैदिन राखेको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरेका छन् ।

संक्रमितका आफन्त भने चर्को शुल्क तिर्न बाध्य बनेका छन् । काठमाडौं मेडिकल कलेजले प्रतिदिन १० हजारदेखि ३० हजारसम्म लिने गरेको छ ।

कलेजद्वारा जारी सूचनामा ‘कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार, कोभिड क्याबिन डिलक्स प्रतिदिन २५ हजार र कोभिड क्याबिन सुपर डिलक्सको प्रतिदिन ३० हजार रुपैयाँ दररेट निर्धारण गरिएको’ उल्लेख छ । यो सरकारले निर्धारण गरेको शुल्कभन्दा अत्यधिक हो ।

ह्याम्स अस्पतालले ७ हजारदेखि ५० हजारसम्म लिएको पाइएको छ । अस्पतालद्वारा जारी कोभिड–१९ उपचारसम्बन्धी मञ्जुरीनामा अनुसार जनरल बेडको ७ हजार, आईसीयू बेडको २२ हजार, चार्ज आइसोलेसन/सुइट रुमको ५० हजार रुपैयाँ शुल्क पर्छ ।

अन्य केही निजी अस्पतालले समेत सरकारले तोकेभन्दा दोब्बर शुल्क लिन थालेका छन् । सरकारी मापदण्ड अनुसार निजी अस्पतालले आइसोलेसन शुल्क दैनिक ३ हजार ५००, मध्यम जटिल केसका लागि दैनिक ७ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने प्रावधान छ ।

गम्भीर बिरामीको आईसीयूमा भेन्टिलेटर सहितको उपचारका लागि दैनिक १५ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने व्यवस्था छ । तर केही निजी अस्पतालले यो नियम बेवास्ता गर्दै अत्यधिक शुल्क लिइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी अस्पतालले सरकारले तोकेको शय्या शुल्कभन्दा ५० प्रतिशत जोडेरमात्रै लिन मिल्ने प्रस्ट पारेका छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित उपचारका लागि भन्दै तोकिएभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गर्ने भएको छ ।

मन्त्रालय सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अत्यधिक शुल्क लिएको पाइए कडा कारबाही गरिने छ । उनले कुनै पनि अस्पतालले तोकिएभन्दा बढी शुल्क लिएको पाइए स्थानीय प्रशासन वा स्वास्थ्य मन्त्रालयमा खबर गर्न आग्रह समेत गरेका छन् ।

महामारी संकटमा एकअर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समय अनावश्यक दुःख दिने, समस्या बढाउने कार्य नगर्न सरकाले आग्रह गरेको छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्