०५ असार २०८३, शुक्रबार

निषेधाज्ञाको मापदण्डमा निर्माण गर्न सकिन्न : निर्माण व्यवसायी महासंघ

बैशाख २३, २०७८
निषेधाज्ञाको मापदण्डमा निर्माण गर्न सकिन्न : निर्माण व्यवसायी महासंघ

कोभिड–१९ बढ्दो संक्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माणका काम सञ्चालन गर्न कठिन भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । 
 
निर्माण सामग्री ढुवानीलगायत काममा प्रयोग भएका गाडीलाई ठाउँठाउँमा रोक्न लगाएर सहजरूपमा पास समेत उपलब्ध नगराइएको महासंघले जनाएको छ ।

निर्माण सामग्रीका केही उद्योग खुले पनि तिनका डिलर र वितरक पसल बन्द रहेकाले निर्माण सामग्रीको अभाव र ढुवानीमा देखिएको समस्या विकराल बन्दै गइरहेको छ । 

निषेधाज्ञाकै फाइदा उठाउँदै निर्माण सामग्रीमा गरिएको चर्को मूल्यवृद्धितर्फ पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रोशन दाहालले बुधवार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वैशाख २१ गते सीसीएमसीले जारी गरेको सूचनामा विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाले नै आवासीय कामदार राखी अनिवार्यरूपले स्वास्थ्य मापदण्ड पालना गर्दै कार्य सञ्चालन गर्ने गराउने उल्लेख भए पनि श्रमिक काम गर्न डराउने स्थिति उत्पन्न भएको छ । 

सडक, सिँचाइका काम तोकिएकै सीमित स्थानमा नहुने भएकाले संक्रमण सर्ने त्रास छ । कतिपय स्थानमा संक्रमण फैलने डरले विशेषगरी शहरी क्षेत्रका र साना तथा मझौला निर्माण स्थलमा जनघनत्व हुने भएकाले निर्माण गर्न कठिन हुने देखिएको महासंघले जनाएको छ । बिहान काममा जाने तथा साँझ निवास स्थलमा फर्कने गरेका कैयन कामदार निर्माण सामग्री ढुवानी लोड अनलोड इत्यादि गर्दा एकअर्कासँग प्रत्यक्ष सम्पर्क हुन्छ ।

निर्माणस्थलमा खटिएका कोही कसैको संक्रमणले गर्दा मृत्यु भएमा वा संक्रमण भएकाको उपचारमा लाग्ने खर्चका कारण निर्माण क्षेत्रले क्षति व्यहोर्नुपर्ने स्थिति आएको महासंघको भनाइ छ । 

कतिपय स्थानमा संक्रमण फैलिने डरका कारण स्थानीयले नै काममा अवरोध सिर्जना गरेको जानकारी महासंघलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । यस विषम परिस्थितिमा म्याद नथप्ने नियतले काम गर्नु भने पनि व्यावहारिकरूपमा त्यो सम्भव नदेखिएकाले सरकारले नगरी नहुने केही निर्माण मात्र सञ्चालन गरी अन्यका लागि शून्य समय (कन्स्ट्रक्सन होलिडे) का रूपमा गणना हुने गरी बन्द गरिनु उपयुक्त हुने महासंघको सुझाव छ ।

सबै परियोजनामा म्याद थपको कुनै विकल्प नभएको महासचिव दाहालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्