
काठमाडौं, १६ जेठ - चार दिनको अवधिमा नेपाली आकाशमा दुई वटा विमान दुर्घटनामा परेका छन् । गत शनिवार गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटनामा परेको थियो । मंगलवार फेरि नेपाली सेनाको कार्गो विमाननै बाजुरामा दुर्घटनामा परेको छ ।
बाजुरमा मंगलवार दिउँसो भएको विमान दुर्घटनामा परेर पाइलको निधन भएको छ । नेपाली कोपाइलट अनिता आले मगर र सुवेदार पूर्ण खड्का घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि सिता एयरको विमानबाट नेपालगञ्ज लगिएको नेपाली सेनाले जनाएको छ ।
बाजुराको कोल्टी विमानस्थल नजिकै नेपाली सेनाको स्काई ट्रक विमान दुर्घटनामा परेको छ । कल साइन एनए ०४८ भएको विमान सुर्खेतबाट कालिकोटका लागि उडेको थियो । तर कालिकोटमा अवतरण हुन नसकेपछि बाजुरातर्फ लागेको थियो । तर बाजुरामा अवतरणकै क्रममा क्र्यास ल्याण्ड भएको हो ।
नेपाली सेनाका प्रवक्ता झंकबहादुर कडायतले खाद्य संस्थाको कार्गो सामान बोकेर कालिकोट जान लागेको विमान बाजुरमा दुर्घटना भएको बताए । उनले घाइतेहरुको उपचार भइरहेको समेत जनाएका छन् ।
गत शनिवार काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना परेको थियो ।
विमानका चालक चालक पारस राई र सहचालक सृजन मानन्धर तथा विमान परिचारिका प्रज्ञा महर्जन उक्त दुर्घटनामा घाइते भएका थिए । उनीहरुको सकुशलनै उद्वार गरिएको थियो ।
धावनमार्ग नजिकै रुखमा ठोकिन्न पुगेको गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुन पुगेको छ । लगातार भइरहेका दुर्घटनालाई सरोकारवालाहरुले दुखद मानेका छन् ।