
काठमाडौं, १६ जेठ — मुसलमान देश पाकिस्तानमा हिन्दू सैनिक हुनु अलिक आश्चर्यकै कुरा हो । तर हिन्दूबहुल भारतविरुद्ध लड्नका लागि पाकिस्तानका उक्त हिन्दू सैनिकले हालै मात्र आफ्नो ज्यान दिएका छन् ।

उनको मृत्युको वास्तविक कारण थाहा हुन नसकेपनि उनलाई पाकिस्तानीहरू हिरो मानिरहेका छन् ।
लान्स नायक लालचन्द राबडी नामक ती सैनिक एक महिनाअघि पाकिस्तान अधिकृत कश्मीरभन्दा केही पर मंगला फ्रन्टमा ड्युटी गरिरहेका थिए । त्यहीँ उनको मृत्यु भयो ।
उनी पाकिस्तानको सिन्ध प्रान्तमा बादिन जिल्लाको इस्माइल खान नौटखनी गाउँमा बस्थे ।
पहिला उनी वजिरिस्तानको आदिवासी इलाकामा थिए र पछि उनको पोस्टिङ कश्मीरमा भयो ।
लालचन्द राजपूत खानदानका हुन् । उनका भाइ भेमन राबडीका अनुसार लालचन्द भन्ने गर्थे, ‘हामीहरू जुन देशमा बाँच्छौं त्यो नै हाम्रो घर हो । त्यसमाथि आक्रमण गर्ने जोकसैलाई पनि हामी छोड्दैनौं ।’
लालचन्दको कथा भेमनले फेसबूकमा शेयर गरेका थिए । पाकिस्तानीहरूले खुशी भएर यसमा कमेन्ट गरिरहेका छन् । उनीहरूले लालचन्दलाई हिरो घोषित गरेका छन् ।
एजेन्सी