
माधव नेपाल पक्षमाथि भएको कार्वाही फुकुवा तथा राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाउन नेकपा एमाले स्थायी कमिटीको बैठक शुक्रवार बस्दैछ । राजधानीमा उपलव्ध स्थायी कमिटी सदस्यहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बिहीवार भएका बहुपक्षीय अनौपचारिक वार्तामा संस्थापन पक्षले माधव नेपाल पक्षका नेताहरूमाथि भएको कार्वाही फिर्ता गर्नेबारे छलफल भएको थियो । पार्टी हित विपरित गुटगत भेला गरेको भन्दै एमालेले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाको लागि निलम्बन गरिएको थियो ।
यस्तै नेपाल, झलनाथ खनाल लगायत ३० जना सांसदसँग स्पष्टीकरण सोधिएको थियो । बिहीवारको बैठकमा नेता नेपाल पक्षमाथिको कार्वाही फुकुवा बारे सामान्य छलफल भएको थियो । शुक्रवार पनि यस विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षमाथि गरिएको कार्वाही फुकुवा गर्ने र नेपाल पक्षले वैशाख २७ गते संसदमा विश्वासको मत हाल्ने गरी संस्थापन पक्षले सहमतिको लागि प्रयास गरेको छ । नेपाल पक्ष पार्टी एकता भन्दा पहिलो २०७५ जेठ २ गतेको अवस्थामा फर्किनु पर्ने अडानमा कायमै रहदा सहमति जुट्न सकेको छैन ।
स्थायी कमिटी बैठकले राष्ट्रिय सभाको रिक्त एक स्थानका लागि बागमती प्रदेशमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउँदैछ ।
शुक्रवार बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम रहेकोले आजै उम्मेदवार टुंगो लगाउनु पर्ने दवाव एमालेलाई छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । बागमती प्रदेशको योजना आयोगका पूर्वउपाध्यक्ष देवकोटा माधव नेपाल निकट मानिन्छन् । नेकपा एमालेले भने आधिकारिक उम्मेदवार घोषणा गर्न सकेको छैन ।
यसअघि गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय सभाको रिक्त स्थानमा उम्मेदवार बनाउने बताएको एमालेले बिहीवार औपचारिक निर्णय गर्न सकेको थिएन । विपक्षी गठबन्धन बलियो हुँदा चुनाव हार्न सकिने भन्दै थापा स्वयमले उम्मेदवारी दिन अस्वीकार गरेका स्रोतको भनाइ छ ।