
रुसले कोरोनाविरुद्धको सिंगल डोज खोप बनाउन सफलता पाएको छ ।
खोपको नाम स्पुतनिक लाइट हो र यो ७९.४ प्रतिशत प्रभावकारी छ । युरोप र अमेरिका बाहेक सबैतिर उपलब्ध अनि गामालेया रिसर्च इन्स्टिच्युटले बनाएको स्पुतनिक खोपकै परिवार अन्तर्गत यो खोप पनि आएको छ ।
रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले यसमा लगानी गरेको हो । फन्डका सीईओ किरिल दिमित्रिएभले यो खोप १० डलरभन्दा पनि कम मूल्यमा उपलब्ध हुने बताए ।
यस खोपको तेस्रो चरणको परीक्षणमा ७ हजारजनालाई समावेश गरिएको थियो । परीक्षण रुस, यूएई र घानामा भएको हो । २८ दिनपछि यसको डेटा विश्लेषण गरिएको थियो ।
यसले भाइरसका सबै स्ट्रेनमा प्रभावकारी उपचार गरेको पाइएको छ । अन्य डबल डोज खोपभन्दा यो खोप बढी असरदार रहेको भेटिएको छ ।
यो खोप लगाएकाहरूमा १० दिनपछि नै एन्टीबडीहरू ४० गुणासम्म बढेको थियो ।
खोप लगाउने सबैमा कोरोनाभाइरसको एस–प्रोटीनविरुद्ध इम्युन रेस्पोन्स विकसित भयो ।
यो सिंगल डोज खोप भएकाले धेरै जनसंख्या भएका मुलुकमा खोप लगाउने दर बढाउन सकिन्छ ।
स्पुतनिक लाइटलाई २ देखि ८ डिग्री टेम्परेचरमा स्टोर गर्न सकिन्छ । यसलाई सहजै जुन ठाउँ पनि लग्न सकिन्छ ।
कोरोना संक्रमण भइसकेकाहरूलाई पनि यो खोप लगाउन मिल्छ ।
खोप लगाएकाहरूलाई संक्रमण भइहालेमा गम्भीर समस्या आउँदैन, अस्पताल भर्ना हुन पर्दैन ।