
आफू पदमुक्त भएपछि रिक्त बनेको राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका छन् ।
अघिल्लोपटक माओवादी केन्द्रबाट निर्वाचित भएका थापा माओवादी छाडेर एमालेमा लागेपछि पदमुक्त भएका थिए ।
जेठ ६ गते हुने उपनिर्वाचनका लागि विपक्षी गठबन्धनले भने एमाले माधव नेपाल पक्षका डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।
डा. देवकोटाले माओवादी सांसदलाई प्रस्तावक र कांग्रेस सांसदलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएका छन् ।
आज अपराह्न ४ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको एमाले स्थायी कमिटी बैठकले थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।
थापा सूर्य चिह्न लिएर उम्मेदवार बन्दैछन् । स्थायी कमिटी बैठकले निर्णय गरेपछि थापाले उम्मेदवारी दिएका हुन् ।
उनी हेलिकप्टरमा चढेर हेटौंडा पुगेका थिए ।
विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बाग्मती प्रदेशको योजना आयोगका पूर्वउपाध्यक्ष देवकोटा माधव नेपालनिकट मानिन्छन् ।
लुम्बिनी प्रदेशमा रिक्त सिट कांग्रेसलाई दिने सहमति भएपछि बाग्मतीमा कांग्रेसले देवाकोटालाई समर्थन गर्ने भएको हो ।