
झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ संक्रमित बिरामीको उपचार गर्न हालसम्म भेन्टिलेटरसहित सघन उपाचार कक्ष (आईसीयू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ ।
बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल सञ्चालनमा रहेका ६५ भेन्टिलेटरसहित आईसीयू शय्यामध्ये २५ कोभिडका बिरामीलाई छुट्याइएको छ ।
अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी गर्दै अगामी १० दिनभित्र प्लान्ट सञ्चालन हुने जनाएको छ ।
ती दुवै अस्पतालका तर्फबाट कार्यकारी निर्देशक दूर्गा प्रसाईद्वारा जारी विज्ञप्तिमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति तथा प्रयोगशाला सक्षम रहेको उल्लेख छ ।
शनिवार मात्र काठमाडौंस्थित ह्याम्स अस्पतालबाट पाँचथरका ५२ वर्षीय संक्रमित दीपकराज आङदम्बेलार्ई ‘हवाई बेड लिफ्ट’ गरी बीएण्डसी अस्पताल लगिएको अस्पतालले जनाएको छ ।
काठमाडौं लगायत देशका विभिन्न जिल्लामा भेन्टिलेटर तथा अक्सिजनको अभाव भएपछि ‘हवाई बेड लिफ्ट’ गरी संक्रमितलाई धमाधम बीएण्डसी पुर्याउनेक्रम जारी रहेको विज्ञप्तिमा उल्लेख छ । शुक्रवार दाङ र पर्साका २ संक्रमितलाई बीएण्डसी अस्पतालमा लगिएको थियो ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘कोरोना उपचारमा बीएण्डसी सरकारलाई सधै सहयोग गर्न तयार छ । हालसम्म कोरोनाका संक्रमितलाई उपचार गर्न भेन्टिलेटर सहित (आईसीयू तथा अक्सिजनको अभाव रहेको छैन ।’
अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिएको जानकारी अनुसार भेन्टिलेटरसहित आईसीयूका लागि देशभरबाट बीएण्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो छ ।
उनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग–अलग भेन्टिलेटरसहित आईसीयू शय्याको ब्लग सञ्चालनमा ल्याएको छ ।