![यी २६ सांसदलाई कोरोना संक्रमण [नामावलीसहित]](https://lktcdn2.prixacdn.net/media/Parliament_6MtdYCOD9D.jpg)
संसद्को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १ हजार २३५ मध्ये १६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वाब संकलन गरिएकामध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २०५ सांसद र १ हजार ३० कर्मचारी र अन्य गरेर अहिलेसम्म १ हजार २३४ जनाको रिपोर्ट प्राप्त भएको हो ।
संक्रमितमध्ये १९ जना सांसद छन् । जसमध्ये १८ जना प्रतिनिधि सभाका सदस्य हुन् । राष्ट्रिय सभाका १ सांसदमा मात्र संक्रमण देखिएको छ ।
संसद् सचिवालयमा स्वाब संकलन गर्नुअघि नै ८ सांसद आइसोलेसनमा रहेकाले संक्रमित सांसदको कूल संख्या २६ पुगेको छ । संक्रमित १६० मध्ये १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी रहेका छन् ।
सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाका ५४ सांसदको भने परीक्षण बाँकी नै छ । प्रतिनिधि सभाका २७१ मध्ये ४ जना निलम्बित हुँदा सांसदको संख्या २६७ रहेको छ ।
कोरोना संक्रमणबाट संघीय संसद् सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको मृत्यु भइसकेको छ । परीक्षण गरिएकामध्ये करीब १२ प्रतिशतमा संक्रमण पुष्टि भएपछि वैशाख २७ गतेका लागि बोलाइएको संसद्को विशेष अधिवेशन नै कोरोना संक्रमणको केन्द्र बन्ने हो कि भन्ने त्रास बढेको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको संसद् बैठकमा संक्रमित सांदलाई समेत उपस्थित गराउने तयारी सचिवालयले गरेको छ ।
अधिवेशन अगाडि कार्यव्यवस्था परामर्श समितिको छलफलले संक्रमित सांसदको सहभागिताको विषय टुंगो लगाउने छ । संक्रमित सांसदलाई छुट्टै कक्षमा राखेर मतदानमा सहभागी गराउने तयारी भए पनि यो निर्णय भइसकेको छैन ।
यी हुन् संक्रमित सांसदहरू
– झलनाथ खनाल
– मुकुन्द न्यौपाने
– मायादेवी न्यौपाने
– पार्वती डिसी चौधरी
– राजेन्द्रप्रसाद गौतम
– नन्दलाल रोका क्षेत्री
– लालबाबु पण्डित
– लक्ष्मणलाल कर्ण
– नरमाया ढकाल
– महेश बस्नेत
– रामबाबु यादव
– गोपालबहादुर बम
– नमीता कुमारी चौधरी
– शान्तिमाया तामाङ
– विना कुमारी श्रेष्ठ
– रेनुका गुरुङ
– जुलीकुमारी महतो
– रघुवीर महासेठ
– किसान श्रेष्ठ
– सुरेश कुमार राई
– पुष्पा कुमारी कर्ण कायस्थ
– भानुभक्त ढकाल
– बिना मगर
– भरतकुमार शाह
– प्रमोद शाह
– दिपकप्रकाश भट्ट
अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।