०६ असार २०८३, शनिबार

पर्वतको जलजलामा २० शय्याको कोरोना अस्पताल सञ्चालन

बैशाख २६, २०७८
पर्वतको जलजलामा २० शय्याको कोरोना अस्पताल सञ्चालन

जिल्लाको जलजला गाउँपालिकाका २० शय्याको कोरोना अस्पताल सञ्चालनमा आएको छ ।

जलजला–८ फर्सेमा अस्पताल सञ्चालनमा ल्याइएको हो । मध्यपहाडी लोकमार्गलाई जोड्ने बेनी–मालढुङ्गा सडकको नजिकै अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । उनका अनुसार अस्पतालमा अहिले छ शय्यामा अक्सिजन जडान गरिएको छ भने बाँकी शय्याका लागि पनि अक्सिजन व्यवस्थापनको तयारी भइरहेको छ ।

गाउँपालिकाले आफैँ अक्सिजन खरिद गरेर अस्पतालमा उपलब्ध गराएको छ । दोस्रो लहरको कोभिडबाट जलजलाभित्र तीन जनाको ज्यान गइसकेको छ भने केहीको अवस्था गम्भीर रहेको छ । पालिकामा दोस्रो लहरमा ४५ जनामा कोरोना सङ्क्रमण देखिएकामा सक्रिय सङ्क्रमित ३५ रहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए ।

तीमध्ये २९ जना होम आइसोलेशनमा रहेका छन् भने छ जना बाग्लुङ, पर्वत र म्याग्दीका अस्पतालमा उपचाररत छन् । जलजलाले निर्माण गरेको अस्पतालमा अहिले एक जना उपचाररत रहेको मल्लले जानकारी दिए । अब गम्भीर खालका बिरामीबाहेक अन्यलाई गाउँपालिकाकै अस्थायी अस्पतालमा राखेर उपचार गर्न सकिने मल्लको भनाइ छ ।
 
अस्थायी अस्पतालमा गाउँपालिकाले नियुक्त गरेका एक चिकित्सक र अन्य स्थानीय स्वास्थ्यचौकीमा कार्यरत अनमी र नर्सलाई चौबीसै घण्टा परिचालन गरिने भएको छ । “हामीसँग पर्याप्त अक्सिजनको व्यवस्था छैन, विभिन्न निकायसँग माग गरेका छौँ, अक्सिजन पर्याप्त भए पनि अस्पतालमा जस्तोसुकै बिरामी पनि भर्ना गर्न सकिन्छ”, मल्लले भने। सिफारिस गर्नुपर्ने बिरामीलाई पनि अक्सिजन सिलिण्डरसँगै सिफारिस गर्न सकिने गरी व्यवस्थापनमा जुटेको मल्लले बताए ।
 
गाउँपालिकाले यसअघि कोरोना सङ्क्रमित बिरामी बोक्नका लागि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाकै स्वामित्वमा रहेको एउटा एम्बुलेन्स पनि भएकाले बिरामीका लागि सवारी अभाव नहुने मल्लले बताए । उपचारभन्दा पनि सचेतना महत्वपूर्ण रहेकाले अहिले सञ्चारमाध्यम तथा अन्य माइकिङ, पम्प्लेट, घरदैलोलगायतका सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्